काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएसँगै खुसी भएका पर्यटन व्यवसायी चिन्तित भएका छन्। विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका पर्यटन व्यवसायी अहिले विमानस्थल पूर्ण सञ्चालन हुन्छ कि हुँदैन? भन्ने प्रश्नले चिन्तित भएका हुन्।
निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि गौतमबुद्ध विमानस्थलबाट दैनिक पाँच वायु सेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेकामा अहिले उडान स्थगन गरेका छन्। हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक उडान भरिरहेको छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अझै प्रबन्ध हुन नसक्दा यसको निरन्तरताप्रति प्रश्न उब्जिरहेको छ। सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै निर्माण नहुँदा विमानस्थल सञ्चालन हुन्छ कि हुँदैन भन्नेमा दुविधा रहेको बताउँछन्।
“अहिलेको अवस्था हेर्दा अब अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन हुन्छ भन्नेमा व्यवसायी र नागरिकलाई विश्वास छैन”, उनले भने। गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनमा ल्याउन श्रम अनुमति, प्रवेशाज्ञा (भिसा) सेन्टर, वैदेशिक रोजगार व्यवसायी कम्पनी, अभिमुखीकरण तालिम केन्द्र, स्वास्थ्य सेवा प्रदायक संस्थालगायत पूर्वाधार भैरहवा क्षेत्रमा तत्काल प्रबन्ध गर्नु पर्ने उनको भनाइ थियो।
“यी सबै पूर्वाधार भैरहवामा सञ्चालन गर्न सकिएको खण्डमा मात्रै विमान कम्पनीले पूर्णरुपमा यात्रु पाउँछन्,” उनले भने, “सुरुवाती दिनमा नयाँ स्थानमा व्यवसाय सञ्चालन गर्न केही छुट दिएर प्रवद्र्धन गर्न सकिन्छ, यसतर्फ सरकारले ध्यान दिनुपर्छ।”
गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइएको थियो। निर्माण थालेको करिब सात वर्षपछि २०७९ जेठ २ गते सो विमानस्थलको उद्घाटन गरिएको थियो ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारको काम हुँदा दैनिक १० घण्टा विमानस्थल बन्द भएको थियो। यस क्रममा भैरहवामा दैनिक पाँच वटा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले सेवा सुरु गरेका छन्। यसमध्ये कतार एयरवेजले केही दिन अघिदेखि भैरहवा उडान स्थगित गरेको छ।
अहिले भैरहवाका व्यवसायीको एउटै माग छ- जुनसुकै मूल्यमा पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान र अवतरण हुनु पर्छ। कोरोनापछि यस वर्ष पर्यटकको चहलपहलबाट खुसी देखिएका व्यवसायी विमानस्थल पूर्ण नचल्दा निराश हुने अवस्थामा आएका छन्।