काठमाडौँ। मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा जोडिएका भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन्। प्रहरीले शनिबार सिरहास्थित नेपाल-भारत सीमा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई घाइते अवस्थामा नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार दुई देशका विभिन्न स्थानमा हुसैनविरुद्ध डकैती, लुटपाट तथा संगठित अपराध मुद्दा दर्ता छ।
महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए।
त्यसैगरी ०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाएर नौ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिए।
भारतमा बसी नेपालमा संगठित अपराध गर्दै आएका डाँकाहरूको समूह रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ। उक्त समूहका केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।
उक्त समूहले दुई देशमा चोरी, डकैती गर्दै आएको हुँदा भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको प्रहरीले जनाएको छ।