काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन सिनर्जी सम्पन्न गरेको छ। नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ।
सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो।
छलफलमा परिसंघ अध्यक्ष अग्रवालले नेपालको बदलिँदो व्यवसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए। उनले युवा उद्यमीको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
मुलुकमा उद्यमीका लागि धेरै अवसर रहेको भन्दै उनले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीलाई सुझाव दिए। परिसंघका निवर्तमान अध्यक्ष अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए।
विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उनको भनाइ छ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको धारणा व्यक्त गरे। व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघले त्यसका लागि निरन्तर काम गरिरहेको उनले जानकारी दिए।
सीएनआईवाईईएफका अध्यक्ष आशीष अग्रवालले कुशल नेतृत्वकर्ताको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीका लागि महत्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताए।
सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमी प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।