पर्यटन सम्भावनाको क्षेत्र हुँदा यसलाई यथार्थमा परिणत गर्न के गर्छौं भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। हामीले नेपालका पर्यटकीय स्रोत–साधनलाई बजारीकरण र प्रस्तुतीकरण गर्न सके मात्रै त्यसबाट फाइदा लिन सकिने हो। नेपालमा प्राकृतिक, सांस्कृतिक, मौलिक धेरै किसिमका पर्यटकीय सम्भावना छन्। यसलाई पर्यटन प्रोडक्टमा प्रस्तुत गर्ने क्षमता एकदमै कमजोर भएकाले पछाडि परेका हौं। हामीले सधंै सम्भावना र आकांक्षाका मात्रै गर्दै आयौं। तर, त्यसलाई यथार्थमा परिणत गर्ने गरी काम गरेनौं। हामीले पर्यटक भित्र्याउने कुरा गर्दै गर्दा यहाँको वातावरणीय आकर्षण स्वागत गर्ने किसिमको छ÷छैन भनेर हेर्नुपर्छ। सरकारी नीति, होटल र पर्यटनसँग जोडिएका अन्य विषय कस्ता छन्, पर्यटक भित्र्याउन कति सहयोगी छन्, यसलाई हामीले केन्द्रमा राख्नुपर्दछ।
हुन त, नीति मार्गदर्शन मात्रै हो। यसलाई कार्यान्वयमा लग्ने काम विभिन्न संस्था तथा निकायले गर्दछन्। होटललाई उद्योगको रुपमा परिभाषित गर्ने भनिएको छ। उद्योगको रुपमा परिभाषित गरेर मात्रै के हुन्छ, हामीलाई चाहिएको के हो, व्यवसायीका आकांक्षा के हुन्, यसको सम्बोधन पनि हुनुपर्छ। पर्यटन ऐन बनाउँदा कहिल्यै होटल नचलाएका, पर्यटनसँग सम्बन्धित क्षेत्रमा काम नगरेका व्यक्ति हुन्छन्। अधिकांश कानुन बनाउने काम कर्मचारीले गर्दछन्। सरकारी तहमा बसेर काम गरेका कर्मचारीको ध्यान कसरी प्रोत्साहन गर्ने, कसरी पर्यटक आकर्षण गर्ने भन्नेतिर भन्दा पनि होटलले केही बदमास गर्छन् कि, त्यसलाई कसरी रोक्ने भन्नेमा केन्द्रित हुन्छ। इसले पनि होटल व्यवसायी मर्कामा छन्।
होटल दर्ता गर्नुपर्छ र दर्ता नगरिए जरिमाना हुन्छ भन्ने मात्रै नीति नियम केन्द्रित छ। विगत वर्षमा हामीले कोरोना महामारी, भूकम्पजस्ता ठूला विपत्ति बेहो¥यौं। त्यो समय होटलका समस्या के हुन्, कस्तो सहयोग आवश्यक छ भन्नेमा सरकारले ध्यान दिएन। अप्ठेरो स्थितिमा सरकारको कुन निकायले कसरी सहयोग गर्छ भन्ने कानुन र संरचनामै देखिँदैन। होटल उद्योगलाई स्थानीय, प्रादेशिक, संघीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै घटना तथा विषयले असर पु¥याउने हुँदा यस क्षेत्रलाई अन्य उद्योगको तुलनामा थत सुरक्षा प्रत्याभूति गर्न आवश्यक छ। यो कुरा ऐनमै समावेश गर्दा राम्रो हुन सक्छ।
हामीले नेपाल पर्यटन गन्तव्यस्थल हो भन्ने गर्दछौं। त्यसभित्र पनि कुन ठाउँ थप आकर्षक गन्तव्य हो भनेर चिनाइनुपर्छ। गन्तव्यस्थलमा होटल खुल्दा व्यवसायीलाई मात्रै फाइदा पुग्ने होइन, त्यहाँका हरेक नागरिक, समुदाय र सरकालाई पनि लाभ मिल्न सक्ने हुनुपर्छ। नेपालको पर्यटकीय गन्तव्यस्थल व्यवस्थापनअनुसार राज्यले लगानी र काम गर्नुपर्छ। नेपालका पर्यटन गन्तव्य निकै लोभलाग्दा छन्। गणतन्त्र स्थापनापछि सबै राजनीतिक दलको घोषणापत्रमा पर्यटनलाई समेट्दै प्रोत्साहन गर्ने, अगाडि बढाउने भनिए पनि वास्तविकतामा त्यस्तो हुन सकेन।
कुनै पनि स्थान वा सम्पदालाई पर्यटक आकर्षण गर्ने किसिमको बनाउने चर्चा गरिँदा त्यहाँको स्थानीय निकाय, वडा, जिल्ला, अर्को मन्त्रालय वा कुन निकायसँग कुरा गर्ने भन्ने निश्चित छैन। उद्योग, गन्तव्यस्थल र सरकारको समग्र अवस्थामा हामीले काम गर्न जरुरी छ। पर्यटन उद्योग, पर्यटन बोर्ड, विभागजस्ता निकायबीच समन्वयको चुनौती छँदै छ। हाम्रा निकाय निकायबीचको नीति पनि समान खाले र एकअर्कालाई सहयोगगर्ने किसिमका हुन जरुरी छ। नेपाललाई प्राकृतिक तथा सांस्कृतिक स्रोत र सम्पदाले विश्वका अन्य गन्तव्यभन्दा बेग्लै किसिमको पर्यटन स्थलका रुपमा चिनाएको छ।