काठमाडौं। भारतमा बिक्री नभएका प्यासेन्जर भेइकलको संख्या ६ लाख ५० हजार युनिट पुगेको छ। सवारीसाधन बिक्रीमा गिरावट आएसँगै स्टकमा रहेका गाडीकोे संख्या साढे ६ लाख बढी पुगेको हो। भारतीय अटोमोबाइल्स डिलर्स एसोसिएसन महासंघ (फाडा)का अनुसार बिक्री नभएर स्टकमा रहेका गाडीको संख्या बढ्दै गएपछि अटो निर्माता कम्पनीहरुले ३.७ लाख भारतीय रुपैयाँसम्म छुट दिने घोषणा गर्न थालेका छन्।
सन् २०२३ र २०२४ का स्टक मोडलहरु हटाउनको लागि अटो निर्माता कम्पनीहरुले यस्तो छुटको घोषणा गरेका हुन्। भारतीय अटोबजारमा अक्टोबर पछि खुद्रा बिक्रीमा १४ प्रतिशत गिरावट आएकाले गाडी डिलर कम्पनी तथा उत्पादक कम्पनीले स्टक घटाउन ठुलो मात्रामा छुट दिने घोषणा गरेका हुन्। यो छुट डिसेम्बरभरीका लागि कायम हुने बताइएको छ।
गत वर्ष (अक्टोबर नोभेम्बर) चाडपर्वपछिको अवधिमा बिक्री २.६ प्रतिशतले बढेको थियो। जसमा २ लाखदेखि २.५ लाख भारतीय रुपैयाँ (भारु)सम्मको छुट कम्पनीहरुले दिएका थिए। तर, अहिले सम्पूर्ण सवारीसाधन बिक्रीमा गिरावट आएकाले स्टक हटाउन कम्पनीहरुले ३.७ लाख भारुसम्म छुटको घोषणा गरेका छन्।
कुन ब्रान्डमा कति छुट?
भारतीय अटोबजारमा कब्जा जमाएर बसेको टाटा मोटर्सले सबैभन्दा धेरै ३.७ लाखसम्मको छुट दिएको छ। कम्पनीले आफ्नो २०२३ प्रि–फेसलिफ्ट सफारी र ह्यारियर मोडेलहरूमा उक्त छुट दिएको हो। टाटा मोटर्सले आफ्ना ईभीका मोडलहरु टियागो ईभीको २०२४ मोडलमा १ लाख १० हजार भारुसम्म छुट दिएको छ। २०२३ मोडलको टियागो र टिगोर ईभीमा २ लाख हाराहारी र नेक्सन ईभीमा ३ लाख भारुसम्म छुट दिएको कम्पनीले पन्च ईभीमा ७० हजारसम्मको छुट दिएको छ।
स्टक हटाउनको लागि टाटा मोटर्सपछि सबैभन्दा धेरै छुट दिएको महिन्द्राले ३.६ लाख भारुसम्म दिएको छ। महिन्द्राले आफ्नो ईभी एक्सयुभी ४०० मा ३ लाख १० हजार भारुसम्म छुट दिएको जनाइएको छ। थार थ्री डोर ४ डब्लुडीमा ३.६ लाख, थार थ्री डोर २ डब्लुडीमा १.३ लाख, बोलेरो लाइनअपमा १.४ लाख र बोलेरो नियो कम्प्याक्टमा १ लाख छुट दिएको छ। यस्तै, बोलेरो नियो प्लसमा १ लाख छुट दिएको छ। महिन्द्रा एक्सयुभी ३०० बिक्री नभएका मोडलहरु अधिकांश २०२३ मोडलका छन् जसमा, १.८ लाखसम्म छुट दिइएको छ।
एमजी कोमेटमा २५ हजार भारुसम्म र जेडएस ईभीमा २ लाख २५ हजार भारुसम्म छुट दिएर बिक्री गरिएको छ। एमजी हेक्टरमा २ लाख छुट दिएपनि हालै लन्च भएको विन्ड्सर ईभीमा भने एमजीले कुनै छुट सुविधा घोषणा गरेको छैन।
यसैगरी, मारुती सुजुकीको फ्ल्यागशिप यसयूभी ग्राण्ड भिटारामा १ लाख ५ हजार र जिम्रीमा २ लाख छुट दिएको छ भने फक्सवागन टाइगुनमा मा २ लाख छुट दिएको छ। यस्तै, टोयोटाले १.६ लाख, हुन्डाईले १ लाख जीपका यसयूभीमा ३ लाख र होन्डाले १.२ लाखसम्म छुट दिइएको छ।
भारतमा उत्पादन भएका २०२३ मोडलदेखिका गाडी स्टकमा भएकाले कम्पनीहरुले भारी छुट दिएका हुन्। यो छुट ६५ देखि ६८ दिनसम्मको लागि रहने कम्पनीहरुले जनाएका छन्।