सप्तरी। सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ। रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिन उडान सुरु गरेको हो।
राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालिन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गरे। राजविराज विमानस्थलमा यसअघि बुद्धएयरले दिउँसोको समयमा दैनिक एक उडान गरिरहेको थियो। नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुध्द एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालिन उडानको परीक्षण गरेको थियो। परीक्षण उडान सफल भएसँगै बुद्ध एयरले सोमबार काठमाडौंदेखि राजविराजको रात्रिकालिन व्यवसायिक उडान सुरु गरेको हो।
योसँगै रात्रिकालिन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालिन उडान हुन्छ।
प्राधिकरणका सूचनाअधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन्।
राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलको रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दिपेन्द्रकुमार कर्णले बताए। राजविराज उडानले यस भेगको उडानलाई थप सुरक्षित सुढृढ गरेको दावी छ ।
आईएफआरमा दुई हजार मिटरमा उडान गर्न सकिनेभएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुने भएको छ। यसअघि भिएफआर उडानका लागि घटिमा पनि पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो। यसले उडान डिले तथा रद्द हुने समस्याबाट राहत मिल्ने विमानस्थलले जनाएको छ।
राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौं–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो।
राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए। राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग रहेको छ। लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको थियो। उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो ।
राजविराज विमानस्थल कार्यालयका अनुसार विसं २०५२ र २०६५ मा केही दिन उडान भयो। २०६६ मा केही समय राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर पुनः बन्द भएको थियो .। विसं २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितको संरचना निर्माण भएको थियो।