काठमाडौँ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) आगामी नेतृत्व छनोट सर्वसम्मत हुने भएको छ। संघको आगामी अध्यक्षका लागि गत साता दुई जनाको उम्मेद्वारी परेको थियो।
प्रभु बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन र संघको उपाध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले गत साता अध्यक्षका लागि उम्मेद्वारी दिएका थिए। तर, संघको पुरानो परम्परालाई जोगाउन संघका सदस्य सिइओहरुले अनुरोध गरेपछि शेरचनले उम्मेद्वारी फिर्ता लिएका हुन्।
संघमा स्थापनायता उपाध्यक्ष नै अध्यक्ष बनाइने परम्परा हुँदै आएको थियो। सोहीअनुसार सबै सदस्यहरुले उपाध्यक्ष कोइरालालाई नै आगामी अध्यक्ष बनाउन आग्रह गरेपछि उम्मेद्वारी फिर्ता लिएको सिइओ शेरचनले बताए।
‘सर्वसहमति गरेर अघि बढ्ने भन्ने सल्लाहअनुरुप मैले आफ्नो उम्मेद्वारी फिर्ता लिएँ,’ उनले भने, ‘निर्वाचनबाट जानुभन्दा सर्वसहमतिमा जाँदा मतभेद नबढ्ने सबैको सल्लाह भयो, त्यसैअनुरुप निर्णय लिएँ।’
आगामी पुस ३ गते संघको ३८ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ। संघको विधानले उम्मेद्ववारी दिन नरोकेपछि विगत १३ वर्षयता निवार्चन प्रकृयाबाट अध्यक्ष चयन भएको छैन। संघको भावी अध्यक्ष उपाध्यक्ष नै सर्वसम्मत मनोनयन हुँदै आएको छ।
यसैगरी, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सिइओ सुरेन्द्र रेग्मी निर्विरोध चयन हुने भएका छन्। कार्य समितिमा दुई जना मात्रै नयाँ सदस्यहरू थप हुने भएका छन्।
रिक्त रहेको तीन जना सदस्यहरूमा एभरेष्ट बैंकमा सिइओ सुदेश खालिङले दोहोर्याउने भएपछि बाँकी दुई जनामा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल र नेपाल बैंकको सिइओ तिलकराज पाण्डे आउने भएका हुन्।
हाल संघको सदस्य रहेका सानिमा बैंकका सिइओ निश्चलराज पाण्डे, प्राइम कर्मसियल बैंकका सिइओ सञ्जिव मानान्धर र सिद्धार्थ बैंकका सिइओ सुन्दर प्रसाद कँडेलको दुई वर्षे कार्यकाल अर्को वर्ष समाप्त हुनेछ।