काठमाडौँ। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ।
भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत गृहबाट बाँध स्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। भोटखोला गाउँपालिका ४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने चेपुवा गाउँ नजिक बाँध निर्माण स्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ।
छोङराङसम्म कोशी राजमार्ग पुगेको छ। कोशी राजमार्गलाई छोडेर आयोजना स्थलतर्फ जान अरूण नदीमा ७० मिटर लामो स्टिल आर्क पुल निर्माण गरिरहेको छ । भोटखोला गाउँपालिका ४ नामासे र सोही गाउँपालिका २ रूकुमा जोड्ने २ किलोमिटर सुरूङ मार्ग निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ।
दुवै स्थानमा पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पुर्याइएका उपकरणलाई खोलेर एमआई १७ तथा साना हेलिकप्टरमार्फत ढुवानी गरिएको हो। हालसम्म तीन सय खेप सामाग्री ढुवानी भइसकेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर अरूण हाइड्रो-इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध-सञ्चालक फडिन्द्रराज जोशीलगायतको टोलीले निर्माण स्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग छलफल गरेका छन्।
पहुँच मार्ग निर्माणका लागि भारतीय कम्पनी गायत्री प्रोजेक्ट लिमिटेड र नेपालको कन्काई इन्टरनेशनल बिल्डर्सको संयुक्त उपक्रम (जेभी)बीच २०७९ फागुन ११ गते सात अर्ब ९१ करोडमा ठेक्का सम्झौता भएको थियो। पहुँचमार्ग ०८२ को माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
‘विश्व बैंकपछि हटे स्वदेशी लगानीमै आयोजना निर्माण’
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनामा लगानीका लागि विश्व बैंक तयार नभए माथिल्लो तामाकोशीकै लगानी ढाँचामा निर्माण गरिने बताए। उनले एक कार्याक्रममा आकर्षक र मुलुकको ऊर्जा क्षेत्र एवं समग्र अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्ने आयोजना नेपालले निर्माण गर्नु पर्नेमा जोड दिए।
विश्व बैंकले लगानी नगर्ने अवस्था आए देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा अगाडि बढाइने उनको भनाइ थियो। “विश्व बैंकले आफ्नो नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लगायतकालाई सहभागी गराएर करिब दुई अर्ब अमेरिकी डलर लगानी जुटाउन उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको छ, अन्तिम चरणमा आएर वित्तीय व्यवस्थापनमा केही ढिलाइ भएको हो, विश्व बैंकको लगानीका लागि प्रशासनिक तथा कूटनीतिक रूपमा छलफल भइरहेको छ”, उनले भने, “यदि यी विकास साझेदार लगानी नगर्ने अवस्था आए नेपालीलाई शेयर निष्कासनमार्फत रकम जुटाएर आयोजना अगाडि बढाउँछौँ।”
निर्माण अवधिको ब्याज, मूल्य वृद्धिलगायतसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको अपर अरूणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ। विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ।
यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडीसीएल)को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारी पत्र (एमओयू) भइसकेको छ। इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरूण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ४९ प्रतिशत सर्वसाधारण शेयरबाट संकलन गरिने छ।
प्राधिकरणका अनुसार आयोजनाको निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्त भई डिजाइन पुनरावलोकन तथा बोलपत्रसम्बन्धी कागजात तयारीका काम भइरहेका छन्। सन् २०२६ देखि निर्माण सुरू गर्ने लक्ष्यका साथ निर्माण पूर्वका काम भइरहेका छन्। आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनालाई आवश्यक पर्ने २३२ हेक्टर निजी जग्गा प्राप्ति सम्पन्न भएको छ। अधिग्रहण गरिने जग्गाको करिब ९९ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकेको छ। आयोजनाबाट विस्थापितको पुनःस्थापना कार्य जारी छ।
आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ। आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ। यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ।