काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन पेश गरेको हो।
सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको प्रतिवेदनमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित अन्य प्रतिवादी छन्। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाहीको माग गरी प्रतिवेदन पेश गरेको जनाइएको छ।
यसअघि प्रहरीले लामिछानेलाई कास्कीको सूर्यदर्शनसहित विभिन्न पाँच जिल्लामा सञ्चालित सहकारीको रकम हिनामिना गरेको भन्दै अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले विभिन्न सहकारीलाई ऋण तिर्न लामिछानले काटेको चेक बरामद गरेको छ।
लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीको बचत अनियमिता गरेको प्रहरीको ठहर छ ।
सहकारी समस्याबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको उल्लेख गरेको छ । बाँकी रकम विभिन्न व्यक्तिको नाममार्फत गोर्खा मिडिया नेटवर्कमा लगेको जनाएको छ । उनी गोर्खा मिडियाको कार्यकारी भूमिका (एमडी)मा रहेर काम गरेका थिए ।
रास्वपा सभापति लामिछाने कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । सोही दिन उनलाई पोखरा लगिएको थियो । यसबीच उनी कास्की प्रहरी हिरासतमा छन् ।
पछिल्लो पटक चितवनमा बयानका लागि लगिएको लामिछानेलाई रातारात पोखरा पुर्याएको भन्दै उनको पक्षमा वकालत हुँदै आएको छ। यसबीच मानव अधिकार आयोगमा उजुरी परेको छ भने प्रतिपक्षी र सत्ता पक्ष दलहरूबीच बहस चल्दै आएको छ।