काठमाडौँ। कालीकोटको दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकामा सञ्चार सेवा पुर्याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरेको हो।
गाउँपालिका ४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टावर जडान भएपछि गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चारको पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमु प्रेमसिंह विष्टले जानकारी दिए।
“गाउँपालिका २, ३, ४, ५, र ६ मा सबै क्षेत्रमा काम गर्नुका साथै पचालझरना गाउँपालिकामा समेत सञ्चार सेवा पुग्ने छ,” उनले भने, “दुर्गम क्षेत्रमा सञ्चारको सेवा पुर्याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको हो।”
टावरको सञ्चालनमा आएसँगै नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको गाउँपालिका ४ का वडाध्यक्ष तिलक बुढाले जानकारी दिए। “गाउँमै फोरजी फाइभजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालन हुन लागेको छ,” उनले भने, “यसले यहाँका सञ्चारको सेवाबाट वञ्चित नागरिकलाई राहत दिनेछ।”
यस स्थानमा सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकले सास्ती खेप्दै आएका थिए। टेलिकमको टावर स्थापना भएपछि सहज हुने अपेक्षा गरिएको पालिका अध्यक्ष इन्द्रबहादुर रोकायले बताए।