काठमाडौं। पछिल्लो समय सेयर बजारबारे अनविज्ञ कोही छैनन्। धेरै मानिसहरू सेयर बजारमा आवद्ध भएका छन्। तर, कुन कम्पनीको सेयर बजार कसरी चलिरहेको छ? भन्ने प्रश्नको जवाफ अधिकांशसँग छैन।
कमजोर र वर्षौंदेखि प्रतिफल वितरण नगरेका कम्पनीको सेयर मूल्य उच्च छ। सामाजिक सञ्जालको प्रयोग गरी होस् वा कसैलाई सेयर बजारबारे बोल्न लगाउँदै लगानीकर्ता उक्साएर होस्, वित्तीय सूचकमा कमजोर कम्पनी चलिरहेका छन्।
कमजोर कम्पनीको सेयर मूल्य बढाएर माथि पुर्याउने र तीव्र गतिमा तल झार्ने क्रम बढ्दो छ। यसले केही सीमित व्यक्तिलाई फाइदा पुग्ने भए पनि अधिकांश लगानीकर्ता उच्च जोखिममा धकेलिन बाध्य भएका छन्।
बजारमा अस्वभाविक मूल्य घटबढ हुने कम्पनीको उदाहरण धेरै पाइन्छ। एक वर्षअघि करिब ३०० रुपैयाँ प्रतिकित्ता रहेको नेपाल फाइनान्सको सेयर मूल्य २०८१ साउन २९ गते २१७८ (त्यसदिन २६१४) रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो। मंसिर २७ सम्म आइपुग्दा १०८७ रुपैयाँ खुम्चिन पुग्यो।
यस्तै, ०८१ साउन १ गते ५८६ रुपैयाँ प्रतिकित्ता रहेको कर्पोरेट विकास बैंकको सेयर मूल्य मंसिर १७ गते १७६४ (उक्त दिन १९२० रुपैयाँसम्म) पुग्यो। मंसिर २७ सम्म आइपुग्दा १६८५ रुपैयाँमा सीमित छ।
यी कम्पनीको सेयर मूल्यमा देखिएका उतार-चढावबाट साधारण लगानीकर्ताको लगानीमाथि कति खेलबाड भएको छ? भन्ने बुझ्न कठिन हुँदैन। यही किसिमको अन्धाधुन्ध उतार-चढाव र लगानी अरू कम्पनीमा पनि देखिएको छ। लगानीकर्ता सचेत हुनु पर्ने कम्पनीको सूचीको अग्रस्थानमा पर्छ- गुडवील फाइनान्स लिमिटेड र नारायणी विकास बैंक लिमिटेड।
यी दुई कम्पनीले पनि करिब-करिब नेपाल फाइनान्स र कर्पोरेट विकास बैंकको लय पक्रिसकेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार एक वर्षअघि अर्थात् ०८० मंसिर २७ गते गुडविल फाइनान्सको सेयर मूल्य ४४६ रुपैयाँ थियो। ०८१ असार २ गतेसम्म आइपुग्दा सेयर मूल्य ५१९ रुपैयाँ पुग्यो। ०८१ साउन १३ मा ७२७ रुपैयाँ, साउन २९ मा १०७० रुपैयाँ र भदौ १७ मा १३३० रुपैयाँ (त्यसदिन १३५३ सम्म) कायम भयो। छोटो समयमा उच्च मूल्य कायम भएको सेयर मूल्य सोही गतिमा घट्दै मंसिर २७ गते ८४२ रुपैयाँमा खुम्चिएको छ।
यस कम्पनीको सेयर मूल्यमा उतार-चढाव देखिनु पर्ने खास र जायज कारणहरू छैनन्। साथै, तेब्बर मूल्य वृद्धि हुने किसिमको वित्तीय अवस्था गुडविलको छैन।
गुडविल फाइनान्सले आर्थिक वर्ष ०७७/७८ यता लगानीकर्तालाई लाभांश दिन सकेको छैन। गत आर्थिक वर्ष (०८०/८१)को अन्त्यसम्ममा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ नाफा गर्न सफल भयो। तर, वितरण योग्य मुनाफा ऋणात्मक रहेकाले लाभांश वितरण गर्ने क्षमता छैन।
गत वर्षमा साढे १४ करोड बढी नाफा गरेको गुडविलको वितरण योग्य मुनाफा खाता २९ करोड ४३ लाख ८५ हजार रुपैयाँ ऋणात्मक छ। गुडविलको नेटवर्थ १८७.७२ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँ छ।
कम्पनीको ९४ लाख ६१ हजार १५२ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यसको ४९ प्रतिशत अर्थात् ४६ लाख ३५ हजार ९६५ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ। ५१ प्रतिशत अर्थात् ४८ लाख २५ हजार १८७ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। सर्वसाधारण स्वामित्वको हिस्सा कम भएकाले पनि गुडविलको मूल्यमाथि निश्चित व्यक्तिहरुले खेलेको देखिन्छ।
यस्तै, नारायणी विकास बैंकको सेयर कारोबार पनि अस्वभाविक छ। एक वर्षअघि अर्थात् ०८० मंसिर २७ गते कम्पनीको सेयर मूल्य ३७० रुपैयाँ थियो। यसपछि, ०८१ जेठ १० मा कम्पनीको सेयर मूल्य ५०० रुपैयाँ, साउन १७ मा ६१५ रुपैयाँ, मंसिर २ मा १०३१ रुपैयाँ हुँदै मंसिर २७ सम्म पुग्दा १३५५ रुपैयाँ (त्यसदिन १३६१सम्म) पुगिसकेको छ। नारायणीको बढोत्तरीको रफ्तार अस्वभाविक भएकाले यसमा आउने गिरावट पनि सोही किसिमको हुने निश्चित छ।
नारायणीको प्रतिसेयर नेटवर्थ २३.८८ रुपैयाँ छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी -१.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात -३३९.४१ रुपैयाँ छ।
बैंकको कूल २६ लाख २४ हजार ६७६ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यसको ३० प्रतिशत अर्थात् ७ लाख ८७ हजार ४०३ कित्ता सर्वसाधारणको स्वामित्वमा छ भने ७० प्रतिशत अर्थात् १८ लाख ३७ हजार २७३ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ।
खासगरी, कम्पनीको वित्तीय विवरण, प्रतिसेयर मूल्य, प्रतिसेयर नेटवर्थ, नाफा/नोक्सान, लाभांश क्षमता, प्रदर्शन, व्यवस्थापकीय पाटोलगायतलाई हेरेर लगानी गर्न छोडिएको छ।
कम्पनीको आधिकारिक जानकारीबिना सामाजिक सञ्जालहरू (फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, भाइबर, टेलिग्राम र क्लब हाउस)मा विभिन्न टिप्पणी गर्ने र खरिद बिक्री गर्न सुझाव दिनेको पछाडि लागेको देखिन्छ। निश्चित कम्पनी तथा क्षेत्रका बारेमा, नेप्से इन्डेक्सका बारेमा र कम्पनीको मूल्यका विषयमा फरक-फरक किसिमको टिप्पणी राखेर लगानीकर्तालाई ‘म्यानुपुलेट’ गर्ने काम भइरहेको छ।
लगानीकर्ताले कुनै पनि कम्पनी लगानी योग्य छ वा छैन भन्ने विषयमा ध्यान पुर्याएको देखिँदैन। कम पुँजी र कम सेयर सूचीकृत भएका कम्पनी होल्ड गरेर मूल्य बढाउने र मूल्य उच्च विन्दुमा पुगेपछि खरिद गर्न उक्साएर फाइदा लिने काम हुने गरेको देखिन्छ।
फाइनान्स, लघुवित्त, जलविद्युत् जस्ता क्षेत्रका कम्पनीमा बढी मात्रामा देखिएका यस किसिमको प्रवृत्तिले लगानीकर्तालाई पछि गएर सेयर बजारप्रति नै वितृष्णा जगाउने सम्भावना पनि उतिकै छ। तुलनात्मक रुपमा बलिया र प्रतिफल वितरण गर्दै आएका कम्पनी सुरक्षित हुने हुँदा स्वयम् लगानीकर्ता सचेत हुनु पर्ने देखिन्छ।