काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनपछि त्यहाँका व्यवसायीमा आएको रौनकता विस्तारै हराउन थालेको छ।
भैरहवा विमानस्थल हेरेर अर्बौ रुपैयाँ लगानी गरेका व्यवसायी एयरपोर्ट सञ्चालनमा आएसँगै छाएको खुसियाली विस्तारै मेटिन थालेको छ।
निर्माण सम्पन्न भएको २ वर्षसम्म एयरपोर्ट नै चलेन। केही समयअघि मात्रै नियमित हुन थालेको उडान पुन रोकिने सम्भावना बढेसँगै उनीहरु निराश हुन थालेका छन्।
पटक–पटक नियमित उडानको प्रतिबद्धता जनाउने, देखाउनका लागि एयरलाइन्सहरु जानेर र विस्तारै उडान रोक्दै गरिरहेका छन्। अहिले एक पछि अर्को उडान रोकिन थालेपछि त्यहाँका व्यवसायीले अहिलेकै स्थितिमा नियमित हुने सम्भावना न्यून देखिएको बताउन थालेका हुन्।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित उडानका लागि चाहना नै नराखेको बताउँछन्।
‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्न १० घण्टा बन्द हुँदा विकल्पको रुपमा भैहवामा उडान गरेको मात्र हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले तीन वटा एयरलाइन्सले उडान नै बन्द गरिसकेका छन्, अब नियमित उडान हुने अवस्था देखिँदैन।’
‘विमानस्थल सञ्चालनका लागि राज्यनै अगाडी बढ्नुपर्ने बेला व्यवसायीले पटक पटक ताकेता गर्नुपरेको बताउँदै राज्यका निकायहरुको उदासीनताले कुनै पनि आयोजना कसरी धरासायी बन्छन् भन्ने गतिलो उदाहरणको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखिएको छ,’ अध्यक्ष श्रेष्ठले भने।
राज्यकातर्फबाट विमानस्थल सञ्चालनपछि आवश्यक कार्यालयहरु सञ्चालन नगरेकै कारण एयरलाइन्सहरुले चाहेर पनि नियमित उडान गर्न नसकेको व्यवसायीहरुको भनाइ छ। कात्तिकदेखि मंसिरसम्म कतार एयर, फ्लाइ दुबई, जजिरा एयर, एयर एसिया र नेपाल एयरलाइन्सले नियमित उडान गरे पनि १ महिना नियमित उडान हुन सकेन।
अहिले जजिरा र नेपाल एयरलाइन्सबाहेक अन्य एयरलाइन्सले उडान रोकिसकेका छन्। ती एयरलाइन्सहरुले पर्याप्त यात्रुहरु नभएकै कारण खाली जहाज मात्र उडान गर्न नसक्ने भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकिसकेका हुन्। अहिले जजिरा बाहेक नेपाल एयरलाइन्सले पनि खाली जहाज उडाइरहेको छ।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले प्रधानमन्त्री, अर्थ, पर्यटन, श्रम र उद्योग मन्त्रीहरु पटक पटक भैरहवामा आएर जहाज नियमित सञ्चालन गर्ने भन्दै गरिएका प्रतिबद्धताहरु माथिनै अविश्वास पैदा हुन थालेको बताए।
‘प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँगै सचिवहरुले समेत गरेकै प्रतिबद्धताहरु पूरा नुहने मुलुकमा कसको विश्वास गर्ने?,’ अध्यक्ष श्रेष्ठले भने, ‘अब नियमित उडानका लागि आन्तरिक उडाननै रोकेर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन थालेको छ।’
विमानस्थल सञ्चालनको आशमा भैरहवा क्षेत्रमा अर्बौ रुपैयाँ लगानी गरेर होटल तथा रिसोर्टहरु सञ्चालन गरेका व्यवसायीहरु करिब १ महिना नियमित विमानस्थल सञ्चालनमा आशावादी देखिएका थिए। तर, एक महिनामै नियमित उडान बन्द भएपछि पुनः त्यहाँका व्यवसायीहरु निराश हुन थालेको व्यवसायी कृष्णप्रसाद घिमिरेको भनाइ छ।
सरकारले निर्णय गर्यो, कार्यान्वयन गरेन
२०८१ साउन ३० गते बसेको मन्त्रिपरिषदको बैंठकले पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको थियो।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न समेत हाल प्रदान गरिरहेको सेवा र कार्य सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको ५ महिना पुग्न लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन।
नेपाल आयल निगमले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दा हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय साउन ३१ गतेको बैठकले गरेको थियो। भदौ १ गतेदेखि लागू हुनेगरी कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरे पनि कार्यान्वयनमा आएको छैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने घोषणा पनि घोषणामै सीमित छ।