काठमाडौंं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल( नाडा) का अध्यक्ष करण चौधरीले नेपालको आर्थिक गतिविधि चलायमान हुन नसक्दा अटो क्षेत्र मारमा परेको बताएका छन्।
आज आयोजित नाडाको ४८औं वार्षिक साधारणसभामा अध्यक्ष चौधरीले सरकार र निजी क्षेत्रबीच समन्वय हुन नसक्दा अटो क्षेत्र प्रभावित बन्न पुगेको बताएका हुन्।
उनले भने, ‘हामी स्वच्छ सम्बन्ध राख्न चाहे पनि सरकारबाट सहयोग भएन। ईभीलाई प्रोत्साहन गर्न सरकारले दीर्घकालीन योजना ल्याउन नसक्दा अटो क्षेत्र प्रभावित भएको छ।यसबारे सरकारलाई विभिन्न समयमा ध्यानाकर्षण गराएका पनि छौं।’
नेपालको अर्थतन्त्रमा अटो क्षेत्रको योगदान २० प्रतिशत रहेको १ लाखभन्दा बढीलाई रोजगारी दिएको दाबी अध्यक्ष चौधरीको छ। अटो क्षेत्रले बिमामा ५० प्रतिशतभन्दा बढी योगदान दिएको उनले बताए।
‘सरकारी नीति समयसापेक्ष नहुँदा अटोमोबाइल क्षेत्रबाट धेरै पलायन भइरहेका छन्। हामी उद्योग खोल्न चाहन्छौं, लगानी बढाउन चाहन्छौं। सरकारले सहयोग गर्नुपर्यो,’ उनले भने।
पछिल्लो समय नेपालमा ईभी गाडी प्रयोग बढे पनि र दुईपांग्रेमा विद्युतीकरण हुन नसकेको धारणा उनको छ। ‘निजी क्षेत्रले चार्जिङ स्टेसन विस्तार गरिरहेको छ। तर, विद्युत् प्राधिकरणले भनेजति सहयोग पाइएको छैन’, उनले भने।
चौधरीले विद्युतीय सवारी सञ्चालनको रणनीति बनाएर आगामी दिनमा सुधारोन्मुख वातावरण बनाउन माग गरे। अध्यक्ष चौधरीले भने, ‘अटो व्यवसायलाई माथि लैजाने हो भने ईभी नीतिका साथै अहिलेको भन्सार नीति परिवर्तन गर्नुपर्छ। मौद्रिक नीतिले अटोमोबाइल्सले कहिल्यै पनि सम्बोधन गर्न सकेन। अब अटो क्षेत्र चलायमान गर्न नसकिए विलय हुने अवस्था छ।’