काठमाडौं। राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर)अन्तर्गत कम भिजिबिलिटी भएको अवस्थामा रात्रिकालीन समय पनि अवतरण गर्ने प्रणाली जडान गरेको हो।
बुद्ध एयरले गत शुक्रबार प्राधिकरण र वायुसेवा कम्पनीका पदाधिकारी तथा प्राविधिकको सहभागितामा इन्स्टु«मेन्ट अवतरणका लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको भिजिबिलिटी परीक्षण उडान गरेको थियो। परीक्षण उडान सफल भएसँगै पुस १ बाट विमानस्थलमा इन्स्ट्रुमेन्ट अवतरण सुरु हुने प्राधिकरणले जनाएको छ।
सो प्रणाली जडानपछि अब राजविराज विमानस्थलबाट २ हजार मिटर भिजिबिलिटीमै रात्रिकालीन समय उडान र अवतरण गर्न सकिने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
अहिले सो विमानस्थलमा भीएफआर उडान मात्र हुने भएकोले उडानका लागि ५ हजार मिटरको भिजिबिलिटी आवश्यक हुने गरेको छ। आइएफआर नियमअन्तर्गत उडान सुरु भए हिउँदका बेला कम भिजिबिलिटीले गर्दा हुने उडान डिले तथा रद्ध हुनेको संख्या घट्ने र यात्रुले समयमै उडान गर्न पाउने सूचना अधिकारी भुलको भनाइ छ।
आइएफआर तथा रात्रिकालीन उडान उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीको सहभागितामा पुस १ गते गरिनेछ।
योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या अन्तर्राष्ट्रिय विमानस्थलसँगै धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराज गरी १० पुगेको छ।