काठमाडौं। कमजोर कम्पनीमाथि ठूला साना लगानीकर्ताको उछलकुदले सेयर बजार जहिले अस्थिर बन्छ। त्यही भएर देशभित्र हुन सक्ने सामान्य घटनाले सेयर बजार सबैभन्दा पहिले प्रभावित हुन्छ।
लगानीकर्ताले मजबूत कम्पनीको सेयरलाई प्राथमिकता दिएर किनबेच गरेको अवस्थामा देशभित्रका हुन सक्ने सामान्य घटनाले सेयर बजार प्रभावित हुनु नपर्ने हो। लगानीकर्ताले कमजोर धरालत भएका कम्पनीमाथि लगानी गर्ने र सत्ता फेरवदलको हल्ला चल्ने वित्तिकै त्यस्ता कम्पनीमा लगानी गरेकाहरु डराएर हतार हतार सेयर फाल्दा मार्केट जहिले अस्तिर भइरहन्छ।
यो बीचमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतापश्चात सरकार परिवर्तनको हल्ला चल्यो र कमजोर पर्फमेन्स बोकेका कम्पनीमाथि गरेको लगानी हतार हतार झिक्न खोज्दा बजार प्रभावित भयो।
जबकि, अहिले सरकार परिवर्तनको कुनै गुन्जायस छैन। कांग्रेस एमाले सरकार ढल्ने हल्ला चल्ने वित्तिकै कुशासनयुक्त कम्पनीको सेयर फाल्ने होडबाजी चल्दा बजार अस्थिर बनेको हो। राम्रा कम्पनीमा लगानी गरेको भए सरकार परिवर्तन हुने हल्लाले पनि केही हुदैन थियो। तर, यहाँ त्यसरी बुझेर लगानीकर्ता लगानी गर्दैनन्।
गत साता मात्रै पनि नेप्से ५२ अंकले घट्यो। मंसिर २० गते २७३४.९३ बिन्दुमा रहेको नेप्से गत साताको पाँच कारोबार दिनमा चार दिन घटेर एक दिन बढ्दा ५२ अंकको गिरावटका साथ २६८२.२९ बिन्दुमा रोकिएको छ।
अघिल्लो साताको पाँच करोबार दिनमा पनि नेप्से दुई दिन बढेर तीन दिन घट्दा १३ अंकको गिरावटका साथ २७३४.९३ बिन्दुमा रोकिएको थियो। तुलनात्मकरुपमा गत साता कारोबार रकममा ठूलो संकुचन आउँदै कुल २८ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो। जबकि, अघिल्लो साता भने नेप्सेमा कुल ४४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। पछिल्लो पटक अधिकांश समय २७०० बिन्दुमा रहेको नेप्से गत साता २६८२ बिन्दुमा झर्नु र कारोबार रकममा उल्लेख्य गिरावट आउनुको खास कारण भने देखिँदैन।
यद्यपि, गत साता बीआरआईलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट सुरु भएको र सरकार ढल्न सक्ने किसिमका हल्ला फैलिए। नेपाली सेयर बजारमा राजनीतिक समिकरण परिवर्तनको विषयमा चर्चा हुनसाथ त्यसको असर तत्कालै देखिने गरेको छ।
सोमबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको थियो भने पार्टीले अनुदान स्वीकार गर्ने तर, ऋण स्वीकार नगर्ने विषयमा स्पष्ट रहेको धारणा देखाएको थियो। बीआरआईमा एमाले कांग्रेसबीच एक किसिमको मतभेद देखिएपनि सत्ता समिकरण नै बदलिने किसिमको स्थिति भने देखिएको थिएन। तर, यहि, विषयलाई अनावश्यकरुपमा बढी चर्चा गर्दाको केही असर भने सेयर बजारमा पनि परेको लगानीकर्ता बताउँछन्।
२०८१ असार १६ गते २०३७.०९ बिन्दुमा रहेको नेप्से लगातार बढेर साउन ३१ गते ३०००.८१ बिन्दुसम्म पुगेर फेरि निरन्तर घट्दै असोज १३ गते २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु)सम्म खुम्चियो। यसपछि उकालो लागेको बजारले अधिकांश समय २७०० बिन्दुमा रहेर बिताएको छ। नेप्से २७०० बिन्दुमा लामो समय रहिसकेको छ भने बजार अब कता जाने भन्ने दुविधा लगानीकर्तामा पनि देखिएको छ। यी सबै विषयकाबाबजुद पछिल्ला साताहरुमा लगानीकर्ताको मनोबल भने एकदमै कमजोर हुँदै गएको देखिन्छ।
नेपाल धितोपत्र दलाल व्यवसायी संघ (स्टक ब्रोकर एसोसिएसन)का पूर्वअध्यक्ष भरत रानाभाट लगानीकर्तामा कन्फिडेन्ट बढ्न नसक्दा बजार सुस्ताउँदै गएको बताउँछन्। ‘यो बीचमा बीआरआईलाई लिएर सत्तारुढ दलहरुबीच केही खटपट भएको भन्ने विषय पनि बाहिरिए। तथापि, बजार एकदमै धेरै मात्रामा घट्नुपर्ने ढंगमा खटपट भएको जस्तो देखिएको पनि छैन,’ रानाभाट भन्छन्, ‘अनुकूल वातावरण हुँदाहुँदै पनि बजार एकदमै सुस्ताएको छ।’ रानाभाटले वित्तीय सूचकहरु सकारात्मक भएपनि सोअनुसार बजार अगाडि बढ्न नसकेको बताए।
हुन त, हालसम्म धेरै सूचीकृत कम्पनीले आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरिसकेका छन्। यो समयलाई लाभांश सिजन पनि भन्ने गरिन्छ। लाभांश सिजनमा सेयर बजार केही मात्रामा सुस्ताउने गरेको रानाभाटको तर्क छ।
उनका अनुसार विगतका वर्षहरुलाई हेर्ने हो भने मंसिर, पुस महिना सेयर बजार तुलनात्मकरुपमा सुस्त हुने समय हो। एकातर्फ यी र यस्ता कारणले बजार सुस्ताउँदै गएको छ भने लगानीकर्ताको मनोबल कमजोर पनि देखिएको छ। यहि, समयमा सरकार ढल्ने अफहवालाई चर्को ढंगमा उठाइएको छ।
अन्यथा, वित्तीय सूचकहरु हेर्दा बजार सुस्ताउने पर्ने स्थितिमा नभएको रानाभाट बताउँछन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्मको चालू खाता एवं शोधनान्तर स्थिति १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा छ। गत आर्थिक वर्षको असारसम्म २० खर्ब ४१ अर्ब रहेको विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म आईपुग्दा २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको चार महिनामा मात्रै ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रिएको छ।
सेयर बजारसँग सँधै जोडेर हेरिने बैंकको ब्याजदर न्यून बिन्दुमा छ। सिडी रेसियो ७८.८० प्रतिशतमा हुँदा बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य रकम प्रयाप्त छ। लामो समयपछि नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएसँगै रोकिएको प्राथमिक सेयर निष्कासन (आईपिओ) स्वीकृत हुने र नीतिगत सुधारका काम हुने अपेक्षा बढेको छ। सेयर बजारमा खास किसिमका कसिला नीति अपनाइएको छैन। यो किसिमको सकरात्मक र अनुकुल माहोलबीच बजारमा सुस्तता छाएको छ।