काठमाडौं। पछिल्लो समय नेपालमा ह्याचब्याक सेग्मेन्ट गाडीमा आकर्षण बढेको छ। ह्याचब्याक सेग्मेन्टमा ग्राहक आकर्षण बढेसँगै विभिन्न ब्रान्डका गाडी आयात हुने क्रम जारी छ। कम मूल्यमा धेरै फिचर पाउन सकिने भएकाले ह्याचब्याक कारमा प्रतिस्पर्धा बढ्दै गएको हो।
अहिले नेपाली अटोबजारमा धेरै ह्याचब्याक गाडी उपलब्ध छन्। नामी र लिपमोटर टी–०३ फिचर लोडेड गाडी हुन्। कम बजेट मूल्यका गाडी किन्ने ग्राहक रोजाइका लागि यी दुई उत्तम विकल्प हुन्। एमएडब्ल्यू वृद्धिले केही समय अगाडि नेपाल ल्याएको नामी ह्याचब्याक कार लुक्स, फिचर, मूल्य र रेन्जको कारण चर्चामा रहेको मोडल हो। लिपमोटर टी–०३ सांग्रिला मोटर्सले नेपालमा परीक्षण गरिरहेको छ।
नामी नेपालमा तीन भेरियन्ट उपलब्ध छ। नामी ई–१ को मूल्य ३० लाख २४ हजार ई–२ भेरियन्टको मूल्य ३२ लाख ४९ हजार र ई–३ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। भन्सार प्रयोजनको लागि लिपमोटर टी–०३ को अधिकतम खुद्रा मूल्य ३४ लाख रुपैयाँ राखिएको छ। यो गाडी परीक्षणको क्रममा रहेकाले यसको आधिकारिक मूल्य सार्वजनिक गरिएको छैन। यी दुई ह्याचब्याकबीच विभिन्न भिन्नता छन्।
ब्याट्री तथा मोटर
नेपालमा परीक्षणका क्रममा रहेको लिपमोटर टी–०३ मा ३७ किलोवाट आवर क्षमता ब्याट्री दिइएको छ। यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ।
एमएडब्ल्यू वृद्धिका अनुसार नामी ई–वान र ई–टुलाई सानो ३१.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध गराएको छ। तर, टप भेरियन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री छ। यसमा ७० किलोवाटको मोटर पाउन सकिन्छ।
रेन्ज
लिपमोटर टी–०३ मा भएको ३७ किलोवाटको ब्याट्रीले २६५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। नामीको सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ। ठूलो ब्याट्रीले सिंगल चार्जमा ३१७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
ग्राउन्ड क्लियरेन्स
लिपमोटर टी–०३ को ग्राउन्ड क्लियरेन्स १४० एमएम छ भने नामीको ग्राउन्ड क्लियरेन्स १७६ एमएम छ।
साइज
लिपमोटर टी–०३ को लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम दिएको छ। यसमा २४०० एमएम लामो ह्वीलवेस भएको कार उत्कृष्ट सिटी कार बन्न सक्ने देखिन्छ।
नामीको लम्बाइ ४०३० एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएमको छ। यसमा २६६० एमएम लामो ह्वीलवेस दिइएको छ, जसले यात्रालाई आरामदायी बनाउन सहयोग गर्नेछ।
क्याबिन फिचर
लिपमोटर टी–०३ को अगाडि भागमै चार्जिङ पोर्ट दिइएको छ, जसले डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ। क्लोजअफ ग्रिल, राउन्ड सेपमा तयार भएको हेडल्याम्प हाउजिङ, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ।
एडास फिचर, सेफ्टी सेन्स र आकर्षक स्टेरिङ ह्वील दिइएको छ। यसमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर छन्। साथै १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ पनि दिएको छ।
नामीमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र टु स्पोक स्टेरिङ, एलईडी डीआरएल सहितको प्रोजेक्टर हेडल्याम्प, क्लोजअफ ग्रिल, तल्लो भागमा दिइएको एयर ड्याम लगायतका फिचर निकै आकर्षक छन्।
यसमा ड्युल कलर ड्यासबोर्ड, ३२ कलरको एम्बियन्ट लाइट र सेन्टर कन्सोल छ। ३६० डिग्री क्यामेरा, अटो होल्ड लगायतका फिचर गाडीमा पाउन सकिन्छ। यसलाई नर्मल, ईको र स्पोर्टस् मोडमा चलाउन सकिन्छ।