काठमाडौं। २०४६ देखि बन्द टीकापुर विमानस्थल मंसिर ३० गते देखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो। यसका लागि नगरपालिकाले तारा एयर र यती एयरलाइन्ससँग सहकार्य गरेको छ।
टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एयरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यावसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए।
विमानस्थलमा केही समय अगाडि नेपाल एयरलाइन्सले परीक्षण उडान गरिसकेको र ताराले एउटा व्यावसायिक उडान गरिसकेको छ।
हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। यात्रु माग बढे उडान थपिने उनले बताए।
हाललाई काठमाडौंसम्मको भाडा ९ हजार र नेपालगन्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा ४ हजार ५ सय निर्धारण गरिएको छ।
उनले तारा एयरमार्फत टीकापुर–नेपालगन्ज– टीकापुर उडान हुने र यतीको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको बताए।
यात्रु सहजताका लागि तारा एयरले नेपालगन्ज बाट १२ः३० बजे र टीकापुर बाट नेपालगन्जका लागि १ः२० उडान गर्नेछ भने यतीको काठमाडौं–नेपालगन्जको उडान तालिका बिहान १० बजे र नेपालगन्ज–काठमाडौं उडान तालिका दिँउसो २ः५ बजे रहेको छ।
टीकापुर आवतजावत गर्ने टिकट यती तथा ताराका वेबसाइट तथा सेल्स अफिसबाट लिन सकिनेछ भने ईसेवा, खल्ती, फोन पेका साथै टीकापुरमा सिद्धार्थ होटल तथा काठमाडौंमा पथिल होलिडेमार्फत लिन सकिनेछ।
ताराले हाल ३ वटा ट्वीनअटर वायुयानमार्फत लुक्ला, फाप्लु, रामेछाप , जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्लालगायत विमानस्थलमा नियमित तथा चार्टर उडान गर्दै आएको छ।