काठमाडौं। सधैंभरको सत्ता किचलोमा फँसिरहने राजनीतिक नेताहरु कहिलेकाहीं परको दुनियाँमा पनि भेटिने गर्छन्। कहिले घुमघाममा निस्कन्छन्, कहिले त्रिशूली, कालीमा दौडिन्छन्। यस्तोमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच साथीसहित लोबुचे हिमाल आरोहण गरेको फेसबुक तस्बिर सार्वजनिक गरेका छन्।
मंसिर २१ देखि खुम्बु पदयात्रामा रहेका शर्माले शुक्रबार ६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका हुन्। सेभेन समिटले आरोहण सहजीकरण गरेको हो। हिमाल आरोहण संसद् दिवस सन्दर्भ पारेर गरिएको उनले बताएका छन्।
आरोहण दलमा शर्मासँगै अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी थिए। उनीहरू शुक्रबार बिहान पौने ६ बजे लोबुचे शिखर पुगेको महामन्त्री शर्माले फेसबुकमा जनाएका छन्।
उनले मंसिर २७ गते राती ११.३० बजे बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर मंसिर २८ गते बिहान ६.४५ बजे लोबुचे हिमाल आरोहणमा सफलता मिलेको बताएका छन्। आरोहणको समयमा स्वर्गानुभूति भएको र मंसिर २१ देखि सुरु भएको खुम्बु पदयात्रा क्रममा लुबुचे चढिएको शर्माले भनेका छन्।
लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्यान्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमाल अवस्थालाई पनि नजिकबाट दृश्यावलोकन गर्ने अवसर जुटेको शर्माले बताएका छन्।
उनले भनेका छन्, ‘आरोहणमार्फत जलवायु परिवर्तनले हिमालमा पुर्याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको ध्यानाकर्षण गराउनु आरोहणको मुख्य उद्देश्य रहेको छ। पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेका चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सबै तहको ध्यानाकर्षण गराउनेछु। आरोहण क्रममा गरिएको स्थलगत अध्ययनका आधारमा संसदको आगामी अधिवेशनमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विवरण पेस गरिनेछ।’
पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकप्रति सम्मान जनाउनु पनि भ्रमणको उद्देश्य हो। खासगरी हिमाली श्रमिकको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा ध्यानाकर्षण गराउनु पनि आरोहणको उद्देश्य रहेको उनले बताएका छन्।
पर्यटन क्षेत्रको विकासमा राज्यको विशेष प्राथमिकताका लागि ध्यानाकर्षण गराउने, आन्तरिक पर्यटन अभिवृद्धिका लागि साहसी पर्यटनमा लाग्न प्रेरित गराउने, शिक्षा, निजामती प्रशासन, प्रहरीलगायत दर्जन महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्याउन आरोहण क्रममा सभामुखमार्फत अपिल गर्ने, नेपाली समाजमा रहेका जातीय विभेद, बालश्रम, घरेलु हिंसालगायत विसंगति अन्त्य गर्न दलहरू, संसद्, संघसंस्था र सिंगो राज्यलाई लोबुचे हिमालको शिखरबाट घच्घच्याउने उद्देश्य पनि शर्माले फेसबुकमा लेखेका छन्।
यस्तै, भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रणका लागि कानुनी कारबाहीलाई व्यापक बनाउन, सडक, पुललगायतका भौतिक निर्माण कार्य तीन सिफ्टमा गर्ने गरी पुँजीगत खर्च वृद्धिसम्बन्धी नयाँ कानुनी निर्माणका लागि उनले सरकारसँग अपिल गरेका छन्।
महामन्त्री शर्मा हालको प्रतिनिधिसभाबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन्।