काठमाडौं। सुशासन प्रत्याभूत गर्ने परिकल्पनासहित स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक लाभहानिमा चलेपछि पछिल्लो समय भ्रष्टाचारका अनेकौं घटना सार्वजनिक भइरहेका छन्। अख्तियारमा घुस लेनदेन हुने गरेको समाचार बाहिरिएका बेला शुक्रबार सरकारी कर्मचारी नै आयोग कार्यालयमा रकमको थैली लिएर गएपछि संस्थाको विश्वसनीयतामाथि प्रश्न उठेको छ।
यद्यपि अख्तियार आफैंले विशेष अदालतमा दायर फैसला चित्त नबुझेपछि सर्वोच्च अदालत पनि जाने गरेको छ। आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारीविरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो। सफाइप्रति चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो। आयोगले घुस रकमसहित पक्राउ गरेको प्रहरी सहायक निरीक्षक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो।
आयोगले घूससहित पक्राउ गरेका प्रतिवादी हरिचन्द्र भुसालसमेतको मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। सो मुद्दामा विशेषले गत जेठ १३ गते फैसला गरेको थियो।
प्रतिवादीले गैरकानुनी रूपमा घुस लिने गरेको विषयलाई अदाललते समेत स्वीकार गरी सुमनकान्त ठाकुरसमेतलाई कसुरदार ठहर गरी फैसला गरेको भए पनि हरिचन्द्र भुसाललगायतलाई भने सफाइ दिएको थियो। सफाइ दिँदा लिएको आधारप्रति असन्तुष्टि जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
मुद्दा मिलाउन अख्तियारका अधिकृतलाई घुस दिने सरकारी कर्मचारी पक्राउ
भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल हुन्छ। आममानिसले मात्रै नभई स्वयं आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ।
आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो। मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ।
अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए।
अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए। सापकोटाले बोकेको हरियो रङको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी १ लाख रकम रहेको आयोगले जनाएको छ।
अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वैच्छाले ल्याएको बताएका थिए।
सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घुस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरेको हो।