काठमाडौं। विकास साझेदार विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई हरित, लचिलो र समावेशी विकास कार्यान्वयन गर्न १०० मिलियन अमेरिकी डलरको विकास नीति सञ्चालन (डीपीओ) स्वीकृत गरेको छ।
आज अमेरिकाको वासिङ्टनमा बसेको बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ कार्यक्रमअन्तर्गत १० करोड डलर स्वीकृत गरेको विश्व बैंकले जनाएको छ।
‘यो रकम नेपालका लागि थप लचिलोपन, दिगोपन निर्माण र सबै नेपालीका निम्ति दीर्घकालीन विकासको आधारलाई र संरक्षण गर्न उत्प्रेरक हुनेछ’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले भने, ‘यो सहयोगले हरित वित्तीय साधन, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन एवं जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रमलाई समर्थन गरेको छ।’
सन् २०२१ देखि नेपालले वातावरणीय दिगोपन, लचिलोपन र समावेशी विकासको क्षेत्रमा कार्यको महत्वाकांक्षी कार्यक्रम तय गरेको र बेरोजगारी, महामारी, जोखिममा परेका समूहका लागि आर्थिक अवसर विस्तार एवं जनताकाे समृद्धि र वातावरणलाई असर गर्ने जलवायु अनि अन्य वातावरणीय जोखिमका चुनौती सम्बोधन गर्न यसले सघाउने अपेक्षा बैंककाे छ।
विश्व बैंकले डीपीओ शृंखलाअन्तर्गत नेपाललाई थप दिगो विकासको बाटोतर्फ अघि बढाएको र वायुको गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरण, जलविद्युत सेवा विस्तार, सिँचाइ एवं सुरक्षित खानेपानी आपूर्तिलाई बढाएर जलसुरक्षामा सुधार गर्ने, सामुदायिक वन व्यवस्थापनलाई सुदृढ गर्ने र भू–उपयोग योजनालाई अभिवृद्धि गर्ने लक्ष्य राखेकाे जनाएकाे छ।
सहयाेगले नेपालको नीति कार्यक्रमले लाखौं नागरिकको रोजगारी, जीविकोपार्जन, स्वास्थ्य र लचिलोपनका लागि महत्वपूर्ण विभिन्न क्षेत्रमा लगानी आकर्षित र विस्तार गर्न मद्दत गर्ने लक्ष्य याे सहयाेग राखेको बैंकले बताएकाे छ।