क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ। मंसिर २५ मा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समिति बैठकले सात सदस्यीय कार्यदल गठन निर्णय गरेको हो। कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी संलग्न निकायबीच आवश्यक समन्वय गर्नेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुुरु गरेको घोषणा गरेको छ। मंसिर २६ मा आयोजित कार्यक्रममा जनसंख्या एवं स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संशोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाइएको बताएका हुन्। यसका लागि विज्ञसँग परामर्श थालिएको छ। नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँबस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्न लागिएको हो। नेपालको जनगणना २०७८ को नतिजाले ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या ऋणात्मक रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले मंसिर २८ गते प्रकाशमणि पौडेललाई पोर्चुगल, सुनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। मोरङको उमागौरी कृषि सहकारी संस्थाबाट पोखरेलपत्नी कोइरालासहित २६ जनाले २२ करोड हिनामिना गरेको दाबीसहित ठगी प्रकरणमा मंसिर २७ गते जिल्ला अदालत मोरङमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो। पोखरेलपत्नी कोइराला उमागौरी कृषि सहकारीका पूर्वसञ्चालक हुन्।
नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते अध्यक्ष सिलवालमाथि पटक–पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको र राहदानी तथा नागरिकता केरमेट गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार नागरिकतामा उनले पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भेटिएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर सञ्चालनमा रोक लगाइएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जले मंसिर २६ गते सूचना जारी गरी त्यस क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाएको हो। हेलिकोप्टर उडान/अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै उडानमा रोक लगाइएको हो। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु पालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघसंस्थाहरुको बैठकले हेलिकोप्टर उडानमा रोक लगाएको हो।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी मंसिर २७ देखि चार्जमा ल्याइएको विद्युत् प्राधिकरणले जनाएको छ। नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवलबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ। प्रसारण लाइन करिब १२०० मेगावाट विद्युत् भार क्षमताको छ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले मंसिर २७ गते रविलाई थप पाँच दिन म्याद थप्दै अनुसन्धान गर्न अनुमति दिएको हो। गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका रविमाथि सहकारीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि प्रहरीले छानबिन गरिरहेको छ।
यो साता सेयर बजारमा ५२ अंकको गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिन अर्थात् मंसिर २० गते २७३४.९३ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पाँच कारोबार दिनमा चार दिन घटेर एक दिन बढ्दा ५२ अंकको गिरावटका साथ २६८२.२९ बिन्दुमा रोकिएको हो। मंसिर १३ गते बिहीबार २७४८.०५ बिन्दुमा रहेको नेप्से गत साताको पाँच करोबार दिनमा दुई दिन बढेर तीन दिन घट्दा १३ अंकको गिरावटका साथ बिहीबार २७३४.९३ बिन्दुमा रोकिएको थियो। यस साता नेप्सेमा कुल २८ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता भने नेप्सेमा कुल कुल ४४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।