काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका सहर, बस्ती, खानेपानी, ढललगायत सबै कुराको विकास गर्न सहरी विकास मन्त्रालय स्थापना गरिएको बताएका छन्।
त्यसलाई थप अघि बढाउन जग्गा तथा आवाज विकास महासंघको भूमिका महत्त्वपूर्ण हुने उनको धारणा छ। शुक्रवार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले दर्ता व्यवसायीबाट मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानुन छिट्टै कार्यान्वयन हुने जानकारी दिए। निजी क्षेत्रलाई ल्यान्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको उनले बताए।
जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकूल कानुन संशोधन आवश्यक रहेको महसुस भएको अर्थमन्त्री पौडेलको धारणा छ। ‘हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको छ। त्यसलाई समाधान गर्न सरकार लाग्छ। घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशयी हुन दिँदैनौं’, उनले भने।
व्यवसायीले व्यवसाय धराशयी भयो भने पनि वास्तविकताबारे बुझ्ने र सकारले धराशयीबाट रोक्ने दाबी उनको छ। उधोगको मान्यता भित्र के–के माग छन्, लिएर आउन व्यवसायीलाई उनले आग्रह गरे। त्यसलाई सम्बोधन गर्न सरकार लाग्ने उनले प्रतिबद्धता जनाए।
विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने मागमा तत्काल आफूले केही भन्न नसक्ने तर व्यवसायीको कुरा सुनिरहेका मन्त्री पौडेलको भनाइ छ।