काठमाडौं । सरकारले १० बर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वांक्षी लक्ष्य लिएको छ । त्यस्का लागि ठूलो पूँजी चाहिन्छ । त्यही पूँजी जुटाउन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने गर्छन् ।
सेयर मार्केटमा रहेको जलविद्युत् कम्पनीहरुमा भने लगानीकर्ताहरुको आकर्षण कम देखिन थालेको छ । अहिले सरकार र नीजि क्षेत्रबाट प्रवद्धित जलविद्युत् आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण घटिरहेको छ । सेयर खरिद गरेका लगानीकर्ताहरु जसरी पनि आफ्नो सेयर बेच्ने मनस्थिति पुगेका छन् ।
नेपाल सेयर एक्सचेन्ज कम्पनी(नेप्से) बजारमा सुचीकृत ३२ ओटा जलविद्युत् कम्पनीमध्ये अधिकांश कम्पनीको सेयर मुल्य अंकित मुल्य प्रतिकित्ता एक सय भन्दा कम छन् ।
नेप्सेको कारोबार भएका १७ ओटा जलविद्युत् कम्पनीको सेयर मुल्य सय रुपैयाँ भन्दा कमी थियो । चिलिमे हाइड्रो पावर कम्पनी, बुटवल पावर कम्पनी, अपर तामाकोशी जलविद्युत् कम्पनी लगायतका केही जलविद्युत् कम्पनीको मात्रै सेयर मुल्य सयभन्दा बढि छ ।
चिलिमे कम्पनीको हाल प्रतिकित्ता ४२० रुपैयाँ सेयर मुल्य छ भने बुटवल पावर कम्पनीको ३२८ रुपैयाँ प्रतिकित्ता सेयर बजार मुल्य छ ।
वास्तवमा सेयर बजारमा प्रतिकित्ता सयभन्दा कम कारोबार हुने जलविद्युत् कम्पनीको वित्तीय क्षमता निकै कमजोर हुने गर्छ । ती जलविद्युत् कम्पनीले आम्दानी कम हुने गर्छ भने ऋणको व्याज तिर्न र सञ्चालन खर्च समेत जुटाउन कठिन हुन्छ ।
कम्पनीका सेयरधनीले राम्रो प्रतिफल नपाएपछि लगानीकर्ता निराश हुनुपर्ने अवस्था छ । बजारमा तरलताको अभाव र लगानीकर्ताको ऊर्जा क्षेत्रमा भन्दा अन्य क्षेत्रमा प्रतिफल बढी आउने अभिलाषाका कारण जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मुल्य घटेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका उपाध्यक्ष कुमार पाण्डे बताउँछन् ।
लगानीकर्ताले राम्रो प्रतिफल नआउने भएपछि सेयर नकिन्ने र बेच्न थाल्ने प्रवृत्तीले जलविद्युत् कम्पनीको सेयर मुल्य घटेको उनको तर्क छ ।
त्यस्तै, बैंकको बढ्दो व्याजदर, प्रसारण लाइन नबन्नु, बनेका जलविद्युत् आयोजनाको विद्युत् विद्युत् खरिद विक्रि मुल्य(पीपीए) दर निश्चित हुनु लगायतका नीतिगत तथा पूर्वाधारका समस्याले पनि लगानीकर्ता जलविद्युत् कम्पनीको सेयरप्रति आकर्षित हुन नसकेको उनको धारणा छ ।
यता, कम्पनीको वित्तीय क्षमता कमजोर हुनु र ढिलो प्रतिफल आउने कारणले गर्दा पनि जलविद्युत् कम्पनी सेयर बजार घट्न गएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । लगानीकर्ताले प्रतिफल नआउने देखेपछि सेयर विक्रि गर्नुपर्ने चाप बढ्दै जाँदा पनि सेयरको मुल्य ओरालो लागेको उनको धारणा छ ।