काठमाडौं। सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ।
मोरङको उमागौरी कृषि सहकारी संस्थाबाट पोखरेलपत्नी कोइरालासहित २६ जनाले २२ करोड हिनामिना गरेको दाबीसहित ठगी प्रकरणमा बिहीबार जिल्ला अदालत मोरङमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।
पोखेरेलपत्नी कोइराला उमागौरी कृषि सहकारीका पूर्वसञ्चालक हुन्।
कोइरालासहित सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंहलगायत फरार छन्। फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ।
२०६८ स्थापना भएको मोरङको धनपालनाथ गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलन प्रकरणबारे प्रतिनिधिसभामा समेत सांसदहरूले कुरो उठाएका थिए।
सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ। बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय बन्द छ। १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ।
केही दिनअघि कोसी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका प्रमुख हरिबहादुर खत्रीले उमागौरीमा सदस्यलाई दोहोरो ऋणी बनाएर रकम अपचलन गरिएको प्रारम्भिक छानबिनले देखाएको प्रतिक्रिया दिएका थिए।
लेखासमिति सभापतिपत्नी कोइराला सहकारी अनियमिततामा मुछिएको घटना गत भदौमा सार्वजनिक भएको थियो।
लेखासमिति सभापति पत्नी कोइराला सञ्चालक रहेको सहकारीले नबिल बैंकसहितका वित्तीय संस्थाबाट ऋण लिएर तिरेको छैन। सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट पनि ऋण लिएको थियो। तर, ऋण नतिरेपछि नेपाल राष्ट्र बैंक मातहतको कर्जा सूचना केन्द्रले उक्त सहकारी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखेको छ।
केन्द्रले पहिलो पटक २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखिएको सूचना प्रकाशन गरेको थियो। ऋण दिने वित्तीय संस्थाहरूको अनुरोधमा केन्द्रले कालोसूची निकाल्ने गर्छ। त्यसपछि समेत उमागौरीले ऋण चुक्ता नगरेपछि २०८० साउन १ गते, कात्तिक १४ गते र २०८१ जेठ ९ गते पनि खराब ऋणीका रूपमा उमागौरीलाई राखिएको छ।
सूचनामा सहकारीका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आमोद अन्सारी मियाँ र सदस्य अञ्जला कोइरालालगायतको नाम छ। प्रतिनिधिसभा सार्वजनिक लेखासमिति सभापति पोखरेल मोरङ-२ बाट निर्वाचित एमाले सांसद हुन्।