काठमाडौं। कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)को आर्थिक तथा युएनएफपीएको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सेफ गर्ल्स परियोजना सुरु भएको छ। परियोजनाका लागि कोइकाले ६६ लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराउनेछ।
यसमध्ये २२ लाख अमेरिकी डलर मधेस प्रदेशमा किशोरीलाई लैंगिक हिंसाबाट जोगाउन, उनीहरूको सामाजिक सञ्जाल निर्माणमा सहयोग पुर्याउन र डिजिटल प्रविधि प्रयोग गर्दै सुरक्षित स्थान उपलब्ध गराउनेछ।
परियोजनाले विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म बृहत् यौनिकता शिक्षाको पहुँच पुर्याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवालाई बलियो बनाउन सहयोग पुर्याउनेछ। परियोजनाले संघीय तथा प्रदेशका मुख्य सरोकारवाला मन्त्रालय र स्थानीय तहका सरोकार निकायसँग सहकार्य गर्दै अगाडि बढ्नेछ।
कार्यक्रम शुभारम्भ अवसरमा कोरियाका लागि कोइकाका राष्ट्रिय निर्देशक मुहेओन कङ र नेपालका लागि युएनएफपीएकी प्रतिनिधि वोन यङ हङको उपस्थिति थियो। कोइकाका निर्देशक मुहेओनले कार्यक्रममा नेपालको विकास यात्रामा कोरिया र नेपालको साझेदारीको महत्वलाई जोड दिए।
युएनएफपीए नेपालकी प्रतिनिधि वोन यङ हङले भनिन्, ‘यो साझेदारी विभिन्न तहमा परिवर्तनको उत्प्रेरक बन्न सक्छ। नेपाल सरकारले हासिल गरेका बलियो उपलब्धिलाई अघि बढाउँदै संघीय, प्रदेश र स्थानीय सरकारको नेतृत्वमा किशोरी र युवतीलाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्ने यो परियोजनाको महत्त्वपूर्ण अवसर हो।’
मधेस प्रदेश, खेलकुद तथा सामाजिक कल्याणमन्त्री प्रदीप जयसवालको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद रानीकुमारी तिवारी, शिक्षा तथा संस्कृतिमन्त्री, राजकुमार लेखी, गृह, सञ्चार तथा कानुनमन्त्री सत्रुधनप्रसाद सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा प्रदेश नीति तथा योजनाका आयोगका सदस्यको उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा सबै मन्त्री र सरकारी अधिकारीले परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरे।