काठमाडौं। भारतीय सीमा नाकाबाट दैनिक ७०० साइकलमा चिनी तस्करी हुने गरेको छ। स्थानीय साइकल चालकमार्फत तस्करले भारतीय बजारबाट दैनिक चिनी ओसारिरहेका हुन्।
स्रोतका अनुसार वीरगन्जबाट मात्रै दैनिक ५ सय साइकलमा चिनी नेपाल ल्याउने र त्यसबापत ४० रुपैयाँ प्रतिटिप्स दिने गरेका छन्। साइकलमार्फत चिनी तस्करी हुँदा स्वदेशी चिनी उत्पादन गोदाममै थन्किएको छ। चिनी गोदाममा थन्किँदा उखु किसानले भुक्तानीसमेत पाउन सकेका छैनन्।
भारतबाट खुलेआम चिनी तस्करी भएर आउदा सरकारले नियन्त्रण गर्न नसकेको गुनासो बढ्न थालेको छ। सामान्यतयाः दसैं, तिहार र छठपछि बजारमा चिनी अभाव हुने र नयाँ उत्पादनको माग ह्वात्तै बढ्ने गर्छ। तर, मंसिर सकिन लाग्दासमेत उत्पादन भएको १० देखि १५ प्रतिशत चिनी बिक्री नभएपछि उद्योगी व्यवसायी निरास हुन थालेका छन्।
भारतीय चिनीले स्वदेशी बजार कब्जा गरेसँगै स्वदेशी उत्पादन गोदाममा थुप्रिएको छ। चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतबाट खुलेआम रुपमा चिनी आउँदा नेपाली उत्पादनले बजार नपाएको बताए। संघले गरेको अध्ययनअनुसार अहिले ७ सय साइकलको काम नै भारतीय बजारबाट चिनी ओसार्ने हो।
तस्करले उनीहरुलाई प्रतिसाइकल ४० देखि ५० रुपैयाँ दिन्छन्। त्यसरी भित्रिएको चिनी गोदामबाट प्याक भएर बजारमा सस्तो मूल्यमा आउँछ। ‘चाडवाडपछि बजारमा चिनीको स्टक सकिने गरेसँगै याँ उत्पादनको माग गर्छ’ अध्यक्ष अग्रवालले भने, ‘यो वर्ष भने गत वर्षकै स्टक उद्योगमा छ, अहिलेको उत्पादन पनि थुप्रियो।’
मंसिर पहिलो सातादेखि नयाँ चिनी उत्पादन सुरु भइसकेको छ। अबको तीन महिना चिनी उत्पादन हुन्छ। सोहीअनुसार किसानलाई उखुको भुक्तानी पनि दिनुपर्ने हुन्छ।
तर, गत वर्षकै चिनी स्टक नसकिएको र नयाँको माग नबढेको कारण समयमै किसानको भुक्तानी दिन सक्ने स्थिति नरहेको उद्योगीको भनाइ छ।
हाल मुलुकमा चिनीको वार्षिक माग करिब २ लाख ५० हजार टन छ। त्यसमध्ये स्वदेशी चिनी उद्योगमा आर्थिक वर्ष २०८१÷८२ मा करिब २ लाख २० हजार टन चिनी उत्पादन हुने प्रक्षेपण संघको छ। गत वर्ष २ लाख २० हजार टन चिनी उत्पादन भएको र ४० देखि ५० टन चोरी तस्करीबाटै आएको संघको दाबी छ।
भारतसँग जोडिएका सीमा नाकाबाट खुलेआम चिनी भित्र्याएर नेपालमा बिक्री गर्ने क्रम ह्वात्तै बढेको छ। खुला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट घरायासी प्रयोगको नाममा सेटिङमा चिनी भित्र्याएर नेपालमा बिक्री गरिँदै आएको हो।
भारतबाट चोरी तस्करीको चिनी तथा खाद्यान्न सामग्री आउने क्रम बढ्नु टाउको दुखाइको विषय बनेको चिनी उत्पादक संघका अध्यक्ष अग्रवालको भनाइ छ। ‘खुला सीमाको नाममा दैनिक हुने तस्करीमा भन्सार कार्यालय र गृह प्रशासन मुकदर्शक हुनु नेपाली उद्योगी, व्यापारीका लागि दुःखद विषय हो’, अध्यक्ष अग्रवालले भने, ‘नियन्त्रणका लागि सरकार गम्भीर नभए धेरै व्यवसायी पलायन हुने स्थिति आउँछ।’
नेपाल चामल, तेल, दाल उद्योग संघका निर्वतमान अध्यक्ष सुवोध गुप्ताले पछिल्लो ६ महिने अवधिमा भारतीय नाकाबाट चोरी तस्करी खाद्यान्न धेरै आइरहेको बताए। नेपालमा भन्दा भारतमा खाद्यान्न सस्तो पाइने भएकाले तस्करले स्थानीयलाई प्रलोभनमा पारेर सीमापार गराउने उनको भनाइ छ।
नेपालमा चिनी प्रतिकेजी १०० रुपैयाँ खुला मूल्य रहेको छ भने भारतमा नेरु ८० मै पाइन्छ। नेपालमा भन्दा भारतमा सस्तो मूल्यमा पाइने भएपछि खुला सीमाको दुरुपयोग गर्दै तस्करले व्यवसाय सन्जाल नै विस्तार गरेको व्यवसायीको गुनासो छ।
भारत र नेपालको सिमानामा गोदाम बनाएर अपांगता भएकाले प्रयोग गर्ने चारपांग्रे स्कुटरदेखि साइकल प्रयोग गरेर सामान ओसारपसार गर्ने गरेको ती व्यवसायीको भनाइ छ। नाकामै अवस्थित भन्सार कार्यालयका कर्मचारीले समेत अपांगता भएका व्यक्ति हुन् भन्दै चारपांग्रे स्कुटरलाई चेकजाँच नगरी पठाउने गरेको व्यवसायीको दाबी छ।
अध्ययन गर्दै सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भारतबाट हुने चिनी चोरी तस्करी रोक्न गम्भीर भएर सरकार लागिरहेको बताए। ‘चोरी निकासी आफैमा गलत हो,’ प्रवक्ता अधिकारीले भने, ‘राजस्व छली हुनु गम्भिर अपराध हो, सम्बन्धित निकायलाई जानकारी गराएर कडाइ गर्न सर्कुलर जारी गराउँछौं।’