काठमाडाैं नेपाली बजारमा चाइनिज लसुनको मूल्य ह्वात्तै बढेको छ। स्वदेशी उत्पादन निरन्तर ओरालो लागेपछि चिनियाँ लसुनको मूल्य छोइनसक्नु गरी बढेको हो।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार एक वर्षको अवधिमै चिनियाँ लसुनको मूल्य ३८ प्रतिशतले वृद्धि भएको हो। २०८१ मंसिर २६ गते चिनियाँ लसुनको मूल्य प्रतिकेजी औषत ३६० रुपैयाँ कायम थियो।
गत वर्षको सोही दिन चिनियाँ लसुनको औसत मूल्य प्रतिकेजी २७० रुपैयाँ थियो। एक वर्षको अवधिमा चिनियाँ लसुनको मूल्य ३७.९३ प्रतिशतले वृद्धि भएको हो।
केही वर्षअघिसम्म नेपालमा भारतबाट आयतीत र आन्तरिक उत्पादनले माग धान्थ्यो। तर विगत ५ वर्षयता नेपालमा चीनबाट आयात हुने लसुनको परिमाण बढ्दो छ।
स्वदेशी लसुन उत्पादन निरन्तर घटिरहेको र बजारको माग धान्न धौ धौ परेपछि चिनियाँ लसुनले विस्तारै बजार कब्जा मात्रै गरेका छैनन्, मूल्य पनि अकासिएको छ।
फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार चिनियाँभन्दा स्वदेशी लसुन प्रयोग गर्न सजिलो भएकाले केही हदसम्म माग बढेको स्वीकार गर्छन्।
‘विगत केही वर्षयता नेपालमा चिनियाा लसुनको माग बढेको छ,’ समितिका सूचना अधिकारी श्रेष्ठले भने, ‘नेपाली र भारतीय लसुन खोस्ट्याउन गाह्रो हुन्छ, चिनियाँ सजिलो र ठूलो आकार पनि हुन्छन्।’
‘हाल नेपालमा नेपाली लसुन बजारमा नआए पछि चिनियाँ लसुनको माग बढदै गएको हो। अहिले नेपालमा उत्पादन हुने सिजन पनि होइन भने भण्डारण गरिएको लसुन पनि सकिएपछि चाइनिज लसुनले नै बजार माग धानेको छ’ उनले भने।
नेपालको ताराइ र मध्य पहाडी भेगमा उत्पादन हुने लसुन आउने सिजन माघ फागुन महिनामा हो। अहिले किसानले भण्डार गरेर राखेको लसुन समेत बजारमा आउन छोडेको उनले जानकारी दिए।
कालीमाटीमा मंसिर १७ गतेयता नेपाली लसुन आएको छैन। हरेक वर्षको मंसिर पुस महिनामा नेपाली लसुन बजारमा नआएकाले चाइनिज लसुनको मूल्य बढ्ने गरेको देखिन्छ। विगत ५ वर्षको चिनियाँ लसुनको तथ्यांक हेर्दा गर्दा मंसिर महिनामा मूल्य बढेकै देखिन्छ। २०७७ मंसिर २६ चिनियाँ लसुनको मूल्य प्रतिकेजी १ सय ५५, २०७८ मंसिर २६ मा २ सय ६५, २०७९ मंसिरमा २६ मा १ सय ८५, २०८० मंसिरमा २६ मा २ सय ७०, २०८१ मंसिर २६ मा ३ सय ५५ रुपैयाँ पुगेको थियो।
करिब ५ बर्षको तुलनामा चिनियाँ लसुनको मूल्य हेर्दा बर्षैपिच्छे वृद्धि भइरहेको देखिन्छ। ‘बजारमा नेपाली लसुन नै आउँदैन, आए पनि कुहिएको बिग्रेको आउने हुँदा त्यो ग्राहकले किन्नु मान्दैनन,’ खुद्रा तरकारी व्यापारी अख्तर गनी अन्सारी भन्छन्, ‘लसुनको भाउ सधैको मंसिर पुस माघसम्म नै धेरै हुन्छ। अब बढ्ने बेला हो, घट्दैन।’