काठमाडौं। नेपाल स्काउटसँग जोडेर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको चरित्र हत्या गर्ने गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्री तथ्यहीन रहेको दाबी गरिएको छ।
नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले बुधबार बेलुकी संयुक्त विज्ञप्ति जारी गरी ऊर्जामन्त्री खड्कालाई जोडेर व्यक्तिगत लाञ्छना लगाउने एवं व्यक्तिगत चरित्रमाथि प्रहार गर्ने उद्देश्यले तथ्यहीन समाचार प्रकाशन गरेको बताएका हुन्।
‘ऊर्जामन्त्री खड्का दुई वर्षदेखि खड्का ल्यान्ड डेभलपमेन्टसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट सेयर लगतको जानकारी प्राप्त हुन आएको छ। यथार्थ नबुझीकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा विगतमा संस्थागत रुपमा नेपाल स्काउट तथा खड्का ल्यान्ड डेभलपमेन्टबीच व्यावसायिक विषयमा केही असमझदारी भए पनि पछिल्लो समय उक्त असमझदारीलाई पूर्ण रुपमा निराकरण गर्ने उद्देश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा संवाद चलिरहेको र समाधान निकट पुगिसकिएको बताइएको छ।
दुई पक्षबीच यसअघि सम्झौता भएबमोजिम बहालबापतको बक्यौता हिसाबकिताबको कार्य सम्पन्न भई विभिन्न मितिमा बक्यौता रकम दाखिला निरन्तर भइरहेको र बक्यौताबापतको बाँकी सावाँ रकम आगामी १० दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको विज्ञप्तिमा उल्लेख छ।
दुई पक्षबीच आपसी समझदारीमा निराकरण उन्मुख विषयप्रति न्यूनतम जानकारीसमेत नराखी समाचार प्रकाशन तथा प्रसारण गर्नु सञ्चार माध्यमलाई शोभनीय नहुने भनिएको छ।