काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले हालसम्म भएका छानबिनको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका रविले विभिन्न सहकारीको रकम अपचलन गरेको प्रतिवेदन संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेपछि कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए। रविविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएकाे छ।
यद्यपि रविलाई पछिल्लो पटक थपिएको चारदिने म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएकाे हो। आज उनलाई थप केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने वा कास्की जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएर अभियोगपत्र दायर गर्ने भन्नेमा छलफल चलिरहेको थियाे। आज रविसहितका ५ प्रतिवादीलाई अदालतमा उपस्थित गराइएकाे हाे।
यद्यपि मुद्दाको अभियोगपत्र तयार गर्न जिल्ला सरकारी वकिल कार्यालय कास्कीले थप ९ दिनको समय मागेकमा कास्की जिल्ला अदालतले पाँच दिन थपेकाे छ। पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पर्साको सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरिएको सूर्य थापा नेतृत्वको संसदीय समितिको छानबिनले देखाएको छ।
गितेन्द्रबाबु (जीबी) राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्।
आज गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबीका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल र लीला पछाईलाई अदालतमा उपस्थित गराइएकाे हो।
रवि संलग्न भनिएका सहकारीमा भएको रकम अपलचनबारे सोधपुछ गर्न २६ मंसिरमा पर्सा हुँदै काठमाडौं ल्याइएको थियो।