काठमाडौं। प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले ९८ करोड बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। प्रभु ग्रुप्स एन्ड कम्पनीज् अन्तर्गतका विभिन्न कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट र कुमारी क्यापिटलबीच सेयर निष्कासन सम्झौता भएको हो।
कम्पनीमा प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिंग्स् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी र हाइड्रो होल्डिंग्स् एन्ड पावर डेभलपमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ।
कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गरिरहेको छ। कम्पनीले हाइड्रो पावरका विभिन्न संरचनामा चाहिने मेसिन आयात गरी भण्डारण गर्ने र जलविद्युत् कम्पनीलाई सप्लाइ गर्ने उद्देश्यले पर्साको वीरगन्ज महानगर–३१ म तीन बिघा जमिन खरिद गरेको छ।
कम्पनीको लिबर्टी इनर्जी र बुटवलको फूलबारीपार्क देउरालीडाँडास्थित सञ्चालनमा आइसकेको भगवान् गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोटगढी जाने सिद्धार्थ केबलकारमा समेत ठूलो लगानी छ।
कम्पनीले आईपीओ निष्कासनपछि प्राप्त रकमले जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्य लिएको छ। कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पुँजी रहेको छ भने जारी पुँजी २ अर्ब छ। कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी रहेकामा आईपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरेर २ अर्ब पुँजी पुग्नेछ। कम्पनीले जारी गर्ने सेयर प्रतिकित्ता ५० दरको १,९६,००,००० कित्ता हुनेछ।
आईपीओ निष्कासन सम्झौतमा प्रभु स्टिल्सका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरेका थिए।