काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई यातायात आवागमन सुरू भएकाे छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टक उद्घाटन गरेसँगै सडक सुचारू भएकाे हाे।
४.८४ मिटर लामो र १२ मिटर चौडा उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौको व्यस्ता कमलादी क्षेत्रमा सवारी आवागमनमा समस्या भएको थियो। व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तिव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए।
गत साउन २३ गते राती बाढीले उक्त सडक क्षतिग्रस्त बनेको थियो। त्यसलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक परिचालन गरी विस्तृत अध्ययन गराएको थियो। प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरी अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो।
मन्त्री दाहालको निर्देशनपछि पुनः साउन २८ गते विज्ञहरुले निरीक्षण गरि भोलिपल्टै लागत अनुमान तयार पारेर स्वीकृत गरिएको थियो। सडक डिभिजन कार्यालय काठमाडौले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो। तर ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो।
काठमाडौं डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंशिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम सुरु भएको थियो। राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो। साेही कारण विभागसँग सहमति लिनुपर्ने प्रकृयाले पनि निर्माणमा केही ढिलाइ भएको थियो।
तर, कात्तिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो। बेमौसमी बाढी, दसैं, पुरातत्वसँग सहमति लिनुपर्ने प्रकृयालगायतका चुनौतीबीच पनि निर्धारित समयअघि नै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले बताए।
काठमाडौं महानगरको मुख्य कार्यालय नजिक कमलादीमा गत साउन अन्तिम साता भासिएको सडक बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ। सडक भासिएपछि त्यस क्षेत्रमा आउजाउ बन्द थियो। ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको हो।
भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक अब सुचारु भए पनि एकतर्फी चलाइने ट्राफिक प्रहरीले जनाएको छ। पहिलाजस्तै अब दरबारमार्ग महेन्द्र शालिकबाट सवारी कमलपोखरीतिर मात्रै जान पाउनेछन्। प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घन्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी