बागलुङ । बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ ।
विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती-बस्तीमा सडकको ट्रयाक पुगेको छ ।
रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पुर्याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो ।
अदालत-चौपारी-गौँडाकोट-तित्याङ-भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअर्न्तगत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदै छन् ।
पहिलो चरणमा छ महिना अघिदेखि ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ ।
यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका ११ रायडाँडाको वडा कार्यालयसम्म चार किमि सडक स्तरोन्नतीका लागि १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ ।
छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् ।
स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने बताए ।