काठमाडौं। नेपालको शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। विश्वभर ख्याति कमाएको कुमोन शिक्षा कार्यक्रमले नेपालमा आफ्नो औपचारिक सुरुवात गरेको छ। काठमाडौंमा आयोजित एक सेमिनारमा विभिन्न ४० विद्यालयका प्रिन्सिपलहरू र शिक्षाविद्हरूले कुमोन विधिले नेपाली शिक्षा प्रणालीमा शुधार ल्याउनु पर्ने औल्याएका हुन्।
कार्यक्रमको उद्घाटनमा जापानस्थित एनपीओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले स्वागत मन्तव्य दिँदै शिक्षामा नवप्रवर्तनशील विधिहरूको आवश्यकता र महत्त्वमाथि प्रकाश पारे। साथै, जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले विश्वभरको कुमोन विधिको सफलता र प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गरेकी थिइन। उनका अनुसार कुमोन विधि ६५ देशका २३,७०० केन्द्रमार्फत संचालन भइरहेको छ र हाल ४० लाख विद्यार्थीले यस विधि अपनाइसकेका छन्।
उनले भनिन्, “कुमोन विधिले बालबालिकाको सोच्ने शैली परिवर्तन गर्दै उनीहरूलाई स्वतन्त्र रूपमा सिक्न र आलोचनात्मक सोच्न प्रेरित गरेको छ। यो विधिले उनीहरूको आत्मविश्वास र समस्या समाधान क्षमताको विकासमा ठूलो योगदान पुर्याएको छ।”
नेपालका लागि कुमोन कार्यक्रमको नेतृत्व गर्दै कुमोन आईजीसी नेपालका अध्यक्ष गणेश मान लामाले कुमोनलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित विशेष विधि भएको बताए। उनले भने, “कुमोन विधि परम्परागत शिक्षण विधिलाई प्रतिस्थापन गर्दै नेपाली विद्यार्थीहरूको आईक्यू स्तर, सृजनात्मकता र आजीवन आवश्यक हुने सीपहरूको विकासका लागि उत्कृष्ट छ।”
कार्यक्रममा एलआरआई स्कूलकी संस्थापक ट्रस्टी डा. यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल श्री मनोज बिस्वकर्माले कुमोन विधि अपनाएपछि आफ्ना विद्यालयका विद्यार्थीहरूमा देखिएका सकारात्मक परिवर्तनहरूको अनुभव बाँडे। उनीहरूले विद्यार्थीहरूको आत्मनिर्भरता, आत्मविश्वास, र शिक्षामा सुधार ल्याउन कुमोनको प्रभावकारितालाई जोड दिए।
यस्तै, कार्यक्रममा एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न कुमोन जस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे। कार्यक्रमको समापनमा कुमोनलाई नेपालका विद्यालयहरूमा व्यापक रूपमा अपनाउन आह्वान गरियो, जसले शिक्षालाई रूपान्तरण गरी विद्यार्थीहरूको सम्पूर्ण सम्भावनाको विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरियो।
कुमोन विधिले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत क्षमतामा आधारित सिकाइको वातावरण उपलब्ध गराएर नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ। यो कार्यक्रमले नेपाली शिक्षा प्रणालीमा नवप्रवर्तन ल्याउने मात्र होइन, विश्वसामु नेपाली शिक्षा स्तरलाई प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ।