काठमाडौं। २०७८ भदौ २ मा सेयरबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) हालसम्मकै उच्च ३१९९.०३ बिन्दु ( ३२२६ सम्म) पुगेको थियो। २०७८ भदौ २ पछि घट्न थालेको नेप्से २०७९ असोज ९ मा १८१५ सम्मको न्यून बिन्दुसम्म खुम्चियो। अर्थात्, ३२२६ बिन्दुबाट नेप्से ४३ प्रतिशत (१४११ अंक)ले घट्यो।
त्यसपछि पछिल्लो पटक २०८१ साउन ३१ मा नेप्से २०७८ यताकै उच्च अर्थात् ३०००.८१ (३०३६.६४ सम्म) बिन्दुमा पुग्यो। नेप्से २०७९ असोज ९ मा कायम भएको १८१५ न्यून बिन्दुबाट ६७ प्रतिशत (१२२१ अंक)ले बढ्यो, तथापि सूचक भने ३०३६ बिन्दुसम्म मात्रै पुग्यो।
ध्यान दिनुपर्ने विषय के भने नेप्से पहिलाको उच्च बिन्दुबाट ४३ प्रतिशत घटे पनि न्यून बिन्दुबाट फेरि त्यही बिन्दुमा पुग्न ४३ प्रतिशत नै बढेर पुग्दैन। त्यही उच्च बिन्दुमा पुग्न पहिला जति प्रतिशत घटेको छ, सोभन्दा बढी प्रतिशतले परिसूचक बढेमा मात्रै पहिलाको उच्च बिन्दुमा पुग्छ।
जस्तै, पहिला नेप्से ३२२६ बिन्दुबाट ४३ प्रतिशतले घट्दै १८१५ न्यून बिन्दुमा आएर त्यसबाट फेरि पछिल्लो पटक ६७ प्रतिशतले बढ्दा पनि सूचक ३०३६ बिन्दुसम्म मात्रै पुग्यो। अर्थात्, पहिला ३२२६ उच्च बिन्दुबाट ४३ प्रतिशत घटेर १८१५ न्यून बिन्दुमा आएको नेप्से न्यून बिन्दुबाट बढेर पुन ३२२६ बिन्दुमा पुग्न करिब ७८ प्रतिशतले बढ्नुपर्ने देखियो।
यसबाट के स्पष्ट हुन्छ भने नेप्से पहिलाको उच्च बिन्दुबाट जति प्रतिशत घट्छ, त्यहाँबाट पहिलाकै बिन्दुमा पुग्न त्यति नै प्रतिशत बढेर उच्च बिन्दुमा पुग्दैन। सामान्यतया नेप्से सूचकमा यस्तो किसिमको अवस्था रहन्छ भने व्यक्तिको पोर्टफोलियोमा झनै बढी यस्तो हुने गर्दछ। नेप्से सूचकमा देखिने यो अवस्था मुख्यतया लगानीकर्ताको पोर्टफोलियो बढी लागू हुने सेयर लगानीकर्ता देव गुरागाईंले उल्लेख गरेका छन्।
अर्थात्, अघिल्लो बुलमा नेप्से ३००० बिन्दुमा हुँदा एक लगानीकर्ताको पोर्टफोलियो जत्रो हुन्छ, पछिल्लो पटक बुल आएर नेप्से ३००० बिन्दुमै पुग्दा पनि उक्त लगानीकर्ताको पोर्टफोलियो पहिलाको बराबर पुग्दैन। हुन त, यस किसिमको कुरा धेरैबाट सुन्दै पनि आएका छौं। एक व्यक्तिले अघिल्लो बुलमा नेप्से २८०० बिन्दुमा हुँदा खरिद गरेर बनाएको पोर्टफोलियोको आकार पछिल्लो बुलमा नेप्से २८०० बिन्दुमै पुग्दा पहिलाको बराबरी पुग्दैन।
२०७८ को बुलमा सेयर बजार सूचक २६००/२८०० बिन्दुमा हुँदा खरिद गरेर राखेका कम्पनीको सेयर २०८१ मा नेप्से ३००० बिन्दु नाघ्दा पनि साँवा नउठेको विषय हामीले केही समय अगाडि मात्रै देखिसकेका छौं। कुनै कम्पनीको मूल्य पहिलाको उच्च मूल्यबाट जति प्रतिशत घट्छ, त्यहाँबाट पहिलाकै मूल्यमा पुग्न त्यति नै प्रतिशत बढेर त्यहाँ नपुग्ने भएर नै पोर्टफोलियोमा यस्तो देखिएको हो।
तर, अघिल्लो पटक र पछिल्लो पटक नेप्से माथिल्लो बिन्दुमा पुग्दाको बीचको अवधिमा नयाँ कम्पनी थपिँदै पनि गएका हुन्छन्। यसरी नयाँ नयाँ कम्पनी थपिँदा सूचक माथिल्लो बिन्दुमा रहनका लागि त्यसले केही सहयोग गर्दछ। त्यसैले नेप्सेमा पुँजी बढ्दा वा सूचीकृत कम्पनी थप भएर सूचक माथिल्लो बिन्दुमा पुग्दै गर्दा पनि व्यक्तिको पोर्टफोलियो भने सोअनुसार बढ्न सक्दैन।
अघिल्लो पटक र पछिल्लो पटक नेप्से माथिल्लो बिन्दुमा पुग्दाको बीचको अवधिमा नयाँ कम्पनी थप हुने र सेयर मूल्यमा भएको वृद्धि पनि धेरै कम्पनीमा बाँडिने हुन्छ। यसरी सेयर बजार जति प्रतिशतले घट्दा लगानीकर्ताको पोर्टफोलियो जतिले घट्छ, त्यति नै प्रतिशतले सेयर बजार बढ्दा पनि लगानीकर्ताको पोर्टफोलियो सामान्यतया पहिलाको ठाउँमा पुग्दैन।