काठमाडौं। पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति पुग्न नसकेको बताएका छन्। बुधबार अर्थ समितिमा भएको छलफलमा पुनले लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बिमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएका हुन्।
‘हाम्रोमा लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बिमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन,’ पुनले भने, ‘म आफैं अर्थमन्त्री हुँदा बिमा प्राधिकरणको अध्यक्षको डकुमेन्ट मन्त्रालयमा आएको थियो। फेक देखिएपछि राजीनामा दिनुस् भन्दा मान्नु भएन। आफू स्वतन्त्र निकायको व्यक्ति हुँ भन्नूभयो। अहिले अख्तियारले मुद्दा दायर गरेको छ।’
उनले यस्ता नियामक निकायमा स्वस्थ व्यक्ति नहुँदा त्यसको असर बजारमा देखिने गरेको बताए। ‘अर्थतन्त्रको कुरा गर्दा हाम्रोमा आजका दिनमा पनि खर्च कसरी बढाउने भन्ने विषय नै प्रमुख छ। विगतका वर्षका दायित्व नै धेरै हुन्छ। यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ,’ पुनले भने, ‘यस्तै, कहिलेकाहीँ हालका अर्थमन्त्रीले नीति तथा कार्यक्रममा भएका कुराहरु परिवर्तन गर्न लागेको, पूर्वाधार आयोजना हटाउन लागेको भन्ने विषय पनि आउँछन्। तर, बजेट एकदमै ग्राउनलेबलबाट आएको छ। अर्को सरकार वा अर्थमन्त्रीले ल्याएको बजेट भनेर फरक कोणले हेर्नुपर्ने आवश्यकता छैन।’
उनले बजेटमा नयाँ चरणको आर्थिक सुधारका कुरा गरेकोले त्यसमा काम गर्न आवश्यकता रहेको पनि उल्लेख गरे।