काठमाडौं। पछिल्लो केही वर्षयता काठमाडौंका क्याफे भरिभराउ छन्। कोभिड १९ पछि सुरु भएको आर्थिक संकटले खाली भएका कफी सपहरुमा अहिले युवाको प्रमुख रोजाइमा परिरहेको छ।
क्याफेलाई वर्किङ स्टेसन बनाएर युवाहरु अघि बढेपछि सञ्चालको मुहारमा खुसी देखिन थालेको छ। दिनभरि कफी सपमा बस्ने खाना खाजा त्यही खाने आफ्नो काम गरेर घर जानेहरुको संख्या दैनिक रुपमा बढेको छ।
अन्य रेष्टुरेन्टभन्दा कफी सप केही शान्त र सफा हुने भएकाले पनि ल्यापटपमा काम गर्नेहरुको जंक्सन नै कफी सप बनिरहेको सञ्चालकको भनाइ छ। खासगरी इन्टरनेटमार्फत हुने काम कफी सपमा बसेर गर्नेहरुको संख्या दैनिक रुपमा बढिरहेको नयाँ बानेश्वर र शंखमूलमा सञ्चालित उमोजा एण्ड उजामा क्याफेका सञ्चालक लिलाराम खड्काको भनाइ छ।
‘ल्यापटपमा के–के काम गर्नुहुन्छ, त्यो त थाहाँ हुँदैन,’ सञ्चालक खड्काले भने, ‘घण्टौंसम्म बस्ने, खाने र काम गर्नेहरुको संख्या भने बढ्दो छ, यसमा कफी सपको बिजनेससमेत बढेको छ।’
कफी सपमा बसेर घण्टौंसम्म ल्यापटप वा मोबाइलमा काम गर्नेमध्ये अधिकांश आइटी इन्जिनियर हुन्। उनीहरु केही सामूहिक रुपमा काम गर्दै आएका छन् भने केहीले व्यक्तिगत रुपमा कफी सपमा बसेर काम गर्दा अफिसको भाडा र इन्टरनेटको शुल्कसमेत तिर्नु नपर्ने भएपछि धेरैको काम गर्ने थलोको रुपमा कफी सप बनेको हो।
चाबहिलमा सञ्चालनमा रहेको क्याफे रोशना द जोईका सञ्चालक रोहन शिवाकोटीले ल्यापटप र मोबाइलमा काम गरेर घन्टाैंसम्म समय बिताउनेहरुको संख्या बढिरहेको बताए। ‘दैनिक ३ देखि ५ कपसम्म कफी खाएर काम गर्नेहरु धेरै हुनुहुन्छ,’ सञ्चालक शिवाकोटीले भने, ‘कफी र खाजा बिक्री हुने भएपछि के काम गर्नुहुन्छ भनेर सोध्ने कुरा भएन तर, त्यसरी काम भने गरेको देखिन्छ।’

अफिस सञ्चालन गरेर बस्नुभन्दा कफी सपमा दैनिक ३ कप कफी खाएर काम गर्दा नै फाइदाजनक हुने देखिएकाले पनि आइटी इन्जिनियरले वर्किङ स्टेसन नै कफी सपलाई बनाएको हुन सक्ने रेडचेरी कफी सञ्चालक नरेश लामाको भनाइ छ। ‘उहाँहरुको पनि राम्रो आम्दानी हुने र कफी सपको पनि बिजनेश बढ्ने हुँदा आइटी इन्जिनियरहरुको वर्किङ स्टेशन कफी सप हुनु खुसीको कुरा हो,’ सञ्चालक लामाले भने।
क्याफे लुवाकका सञ्चालक सन्तोष भण्डारीले कफी सपमा आएर दैनिक रुपमा ल्यापटपमा काम गर्ने युवाहरुको संख्या बढेको बताए। सञ्चालक भण्डारीले भने, ‘नियमित रुपमा केही व्यक्तिहरु आएर घण्टौंसम्म काम गर्ने र कफी पनि राम्रै खाने गर्नुभएको छ, यो हामीलाई राम्रै भएको छ।’
‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज्’ (आईआईडिएस) को एक अध्ययनले नेपालमा सूचना प्रविधि क्षेत्रको राम्रो सम्भावना रहेको देखाएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
अध्ययनअनुसार नेपालमा आउटसोर्सिङमार्फत सफ्टवेयर विकास र डिजिटल सेवामा तीव्र वृद्धि भएको देखाएको छ।
अध्ययनअनुसार नेपालको आइटी क्षेत्रले एक वर्षमै ५१ करोड ५० लाख अमेरिकी डलर (साढे ६७ अर्ब रुपैयाँ) बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको छ।
जसमा १ सय ६ आइटी कम्पनीले सेवा निर्यात गरेका छन भने १४ हजार ७ सय २८ इन्जिनियरले सफ्टवेयर विकास प्रविधिमा आधारित सेवा निर्यात गरेका छन्, जुन ६४.२ प्रतिशतले वृद्धि भएको हो। २०२१ मा भने यस्तो निर्यात ३१ करोड ३० लाख डलर (करिब ४१ अर्ब ४० करोड रुपैयाँ) थियो।
राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिना (साउनदेखि असोज) सम्म को तथ्यांकअनुसार यो अवधिमा १ अर्ब ५४ करोड रूपैयाँ बराबरको सूचना प्रवृधिमा आधारित (आइटी) सेवा निर्यात भएको थियो। त्यस्तै, ५१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो।