काठमाडौँ। मलेसियामा रोजगारका लागि जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट तोडिएको छ। अब नेपाल सरकारबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा काम गर्न जाने नेपाली कामदारहरूको मेडिकल परीक्षण गर्न पाउने भएका छन्। मलेसिया सरकार र नेपालस्थित मलेसियाली दूतावासले संयुक्त रूपमा यस निर्णयको घोषणा गरेका हुन्।
यस कदमलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र मेनपावर व्यवसायीहरूले स्वागत गरेका छन्। संघका अध्यक्ष राजेन्द्र भण्डारीले यो निर्णयले कामदारको लागत घटाउन सहयोग गर्ने बताए। “कुनै पनि प्रकारको सिन्डिकेटलाई हामी स्वीकार्दैनौं,” उनले भने।
सिन्डिकेट तोड्न बेस्टिनेट र महासंघको सम्झौता खारेज
मलेसियाको मेडिकल परीक्षणमा सिन्डिकेट गर्दै आएको बेस्टिनेट एसडिएन बिएचडि र नेपाल स्वास्थ्य व्यवसायी महासंघबीचको सम्झौता गत मे महिनामा सकिएपछि पुनः नविकरण नगरिएको हो। यसअघि विदेशी कामदारलाई मलेसिया प्रवेश गर्न अनिवार्य मेडिकल परीक्षणका लागि सिन्डिकेटमार्फत मात्र परीक्षण गर्नुपर्ने बाध्यता थियो।
अब, नेपाल सरकारबाट मान्यता प्राप्त कुनै पनि स्वास्थ्य संस्थाबाट मेडिकल परीक्षण गराउन सकिने मलेसिया सरकार र मलेसियन दूतावासले जानकारी दिएका छन्।
मलेसियन दूतावासको सहकार्य आह्वान
मलेसियाली दूतावासले नेपाली मेडिकल व्यवसायी र मेनपावर व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। दूतावासले स्वास्थ्य परीक्षण सम्बन्धी थप जानकारीका लागि मलेसियास्थित नेपाली दूतावास वा मलेसियाली कम्पनीहरूको एचआर विभागसँग सम्पर्क गर्न आग्रह गरेको छ।
मलेसिया सरकारले २०२४ मे ३१ देखि नै सिन्डिकेट खारेज गरेको घोषणा गरेको थियो। सिन्डिकेट हटेसँगै नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लागत घट्ने र प्रक्रिया सरल हुने अपेक्षा गरिएको छ।
नयाँ प्रणालीमार्फत लाभ
यस निर्णयले कामदारहरूको लागत कम हुनुका साथै निष्पक्षता सुनिश्चित हुने विश्वास गरिएको छ। मलेसिया जाने कामदारहरूलाई समयमै मेडिकल परीक्षण गराउन सहज हुनेछ, जसले रोजगारी प्रक्रियामा सकारात्मक प्रभाव पार्नेछ।