काठमाडौं। भद्रगोल वित्तीय सूचक बोकेको कर्पोरेट डेभलपमेन्ट (विकास) बैंकमा लगानीकर्ता निरन्तर भुम्मिरहेका छन्। २०८० मंसिर ४ गते २८२ रुपैयाँ प्रतिकित्ता रहेको नेपाल फाइनान्सको सेयर मूल्य २०८० चैत ४ मा ३७३ र २०८१ असार १२ मा १०३३ रुपैयाँ प्रतिकित्ता पुगेको थियो।
यसपछि झनै अस्वभाविक रुपमा बढेको यस कम्पनीको सेयर मूल्य २०८१ साउन २९ गते २१७८ (त्यसदिन २६१४) रुपैयाँ प्रतिकित्तासम्म पुगेर मंसिर २० गतेसम्म आइपुग्दा ११३२ रुपैयाँमा सीमित भएको छ।
तथ्यांक हेर्ने हो भने यो बीचमा नेपाल फाइनान्सको सेयर मूल्य १४०० रुपैयाँले घटिसकेको छ। नेपाल फाइनान्सको सेयर मूल्य उकालो लाग्दा र घट्दा देखिएको अस्वभाविक रफ्तार कर्पोरेट विकास बैंकमा पनि पाउन सकिन्छ।
एक वर्ष अघि अर्थात् २०८० मंसिर २६ गते कर्पोरेट विकास बैंकको सेयर मूल्य ३२५ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहको थियो। त्यसबाट सामान्य घटबढ हुँदै उकालो लागेको यस कम्पनीको सेयर मूल्य २०८१ साउन १ गतेसम्म आइपुग्दा ५८६ रुपैयाँ प्रतिकित्ता कायम भएको देखिन्छ।
साउनसम्म सामान्य किसिमको वृद्धि देखिएको यस कम्पनीको सेयर मूल्य २०८१ भदौ २० गतेसम्म आईपुग्दा प्रतिकित्ता १००० रुपैयाँ पुगिसकेको थियो।
उक्त बिन्दुबाट सामान्य घट्दै २०८१ कात्तिक २८ गते ९९८ रुपैयाँ प्रतिकित्तासम्म खुम्चिएर भने कम्पनीको सेयर मूल्यले अलग्गै किसिमको गति देखियो। कात्तिक २८ पछिको १३ कारोबार दिनमा नै ७८१ रुपैयाँले बढ्दै मंसिर १८ गते कम्पनीको सेयर मूल्य १७७९ रुपैयाँमा पुग्यो।
मंसिर १७ गते १७६४ (उक्त दिन १९२० रुपैयाँसम्म) पुगेको यस कम्पनीको सेयर मूल्य मंसिर २० गतेसम्म आइपुग्दा १६९९ रुपैयाँमा सीमित भएको छ।
कर्पोरेट विकास बैंकमा देखिएको यो किसिमको सेयर मूल्य उतारचढाव हेर्दा ठ्याक्कै नेपाल फाइनान्सको दृष्टान्त नदोहोरिएला भन्न सकिन्न। यदि, यसो भएमा नेपाल फाइनान्सको जस्तै उच्च मूल्यका खरिदकर्ता (अन्तिम बायर)लाई यसबाट हुने घाटाबाट बाहिर निस्कन निकै संघर्ष गर्नुपर्ने देखिन्छ।
हुन त, कर्पोरेट विकास बैंकमा आएको यो किसिमको मूल्य वृद्धिको पछाडि कम्पनीको वित्तीय अवस्था कस्तो रह्यो? प्रतिसेयर मूल्य, प्रतिसेयर नेटवर्थ, नाफा/नोक्सानको स्थिति कस्तो छ? कम्पनीको प्रदर्शन र व्यवस्थापकीय पाटोमा के सुधार आयो? जस्ता विषय पनि हेर्नुपर्ने हुन्छ। यदि, कम्पनीको वित्तीय अवस्था र यी सूचकमा व्यापक सुधार देखिएमा उच्च मूल्य वृद्धिलाई स्वभाविक मान्न सकिन्छ। तर, कर्पोरेट विकास बैंकको सेयर मूल्य वृद्धि र यी सूचकहरुबीचमा कुनै तादाम्य मिलेको देखिँदैन।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.८३ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ३९ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९१.२३ रुपैयाँ छ।

कर्पोरेट विकास बैंकको प्रतिसेयर नेटवर्थ १४३.७४ रुपैयाँ र तरलता अनुपात ५३.१६ प्रतिशत छ। ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको ५२ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ३० प्रतिशत अर्थात् १५ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ७० प्रतिशत अर्थात् ३६ लाख ७५ हजार कित्ता सेयरमा संस्थापकको स्वामित्व छ।
खासगरी, यो कम्पनीको कम सेयर नेप्सेमा सूचीकृत भएको र सर्वसाधारणको स्वामित्व पनि थोरै रहेकाले पनि होल्ड गरेर, अन्यलाई खरिद तथा बिक्री गर्न उक्साएर थपघट गर्न सकिन्छ। यहि, कारणले गर्दा पनि केही निश्चित व्यक्तिले सामाजिक सञ्जाल (फेसबुक, म्यासेन्जर ग्रुप, टेलिकग्राम, क्लब हाउस)मा विभिन्न किसिमको चर्चा गर्ने र कसैलाई खरिदबिक्री गर्न बाध्य पार्ने गरेको देखिन्छ।
साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी सामाजिक सञ्जालमा प्रभाव पारेर तथा लगानीकर्तालाई उक्साएर नै केही कम्पनीको सेयर मूल्य अस्वाभाविक वृद्धि गर्ने गरिएको बताउँछन्। ‘केही कम्पनीको सेयर मूल्य हेर्दा अस्वाभाविक ढंगमा बजार चलेको देखिन्छ। वित्तीय विवरण र अन्य सूचकसँग तुलना गर्दा अहिले पनि केही कम्पनीको मूल्य निकै अस्वाभाविक स्थितिमा छ,’ जिसी भन्छन्, ‘यसलाई नियामकले पनि नजिकबाट नियाल्न आवश्यक छ।’
जिसीले दैनिक कारोबारमा तथा मूल्यमा देखिएका अस्वाभाविक गतिविधिलाई नियामकले सूक्ष्म ढंगमा हेर्नुपर्ने बताए। हुनतः लगानीकर्ता आफैँ सचेत भएर कम्पनीको ब्यालेन्स सिट (वासलात) हेर्ने, नाफा र घाटाको अवस्था विश्लेषण गर्ने, कम्पनीको लगानी र आर्जनका माध्यमहरू हेर्ने, सेयर संरचना र प्रतिसेयर आम्दानी हेर्ने गर्दा पनि जोखिम कम हुन्छ।
फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, भाइबर, टेलिग्राम र क्लब हाउसमा विभिन्न टिप्पणी गर्ने, ग्रुप तयार गर्ने तथा अन्य ग्रुपमा सेयर गर्ने कार्य व्यापक मात्रामा भइरहेको छ।
निश्चित कम्पनी तथा क्षेत्रका बारेमा, नेप्से इन्डेक्सका बारेमा र कम्पनीको मूल्यका विषयमा फरक–फरक किसिमको टिप्पणी राखेर लगानीकर्तालाई म्यानुपुलेट गर्ने कार्य उच्च मात्रामा भइरहेको देखिन्छ।
यसबाट खासगरी, नयाँ र साधारण लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ। अन्यथा, अन्तिम बायर हुन पुगेको खण्डमा बजारप्रति नै वितृष्णा जाग्ने र लगानी उकास्न नसक्नेगरी फस्न सक्दछ। लगानीकर्ता निश्चित कम्पनीको सेयर मूल्य घटाउन, बढाउन, खरिद गराउन तथा बिक्री गराउन लागि परेका व्यक्ति तथा समूहसँग सचेत रहन आवश्यक रहेको उनको भनाइ छ।