काठमाडौँ । नवलपरासी गैँडाकोट ११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुई तले घर बेचेर कृषिमा लगानी गरेका छन् । पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेचेर उनले गैँडाकोट–१८ बसेनीमा जग्गा किनेर दुई करोड ६५ लाख लगानी गरी टीकारत्न टुल्की कृषि फर्म सञ्चालन गरेका हुन् ।
विं.सं. २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उनले कृषि कर्मलाई अगाडि बढाएका हुन् । “यो पूरै डाँडो सबै झाडीले घेरिएको थियो”, रेग्मीले भने, “यहाँ घुमेर गएपछि राजमार्गसँगै रहेको साढे दुईतले घर बिक्री गरेर लगानी गरेँ, अहिले सन्तुष्ट छु ।”
“लालपुर्जा भएको जग्गा भए पनि सिँचाइको अभावमा उत्पादन नभएपछि बाँझो रहेको जग्गा किनेर खेती सुरू गरेँ,” उनले थपे, “मैले यहाँ उत्पादन गरेको देखेर केही व्यक्तिहरू विदेशबाट फर्किएर पनि यहीँ किसानी गरेका छन् ।”
उमेरले ६६ वर्ष लागेका रेग्मीको दैनिकी दिनभरि बारीमा घुम्ने र बोट बिरूवामा देखिएको समस्या समाधानका लागि काम गर्ने तथा बिरूवालाई प्रोटिन पु¥याउने काममा बित्ने गरेको छ । “पहिलो झाडीले घेरिएको यो डाँडामा अहिले एक हजार पाँच सय वटा सुन्तला, आठ सय वटा कागती, तीन सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायत फलफूलका बोटबिरूवाहरू छन्”, रेग्मीले भने, “अब धेरै फलफूलबाट आम्दानी लिन सुरू भइसकेको छ ।”
उनका अनुसार आँप, कागती, निबुवा, सुन्तलासहित फलफूलले आम्दानी दिन सुरू गरिसके । “यस वर्ष मात्रै ५० क्विन्टल कागती काठमाडौँ पठाएँ, पाँच क्विन्टल यहीँको स्थानीय बजारमा बिक्री भयो”, उनले भने, “निबुवाबाट रस निचोरेर तीन सय लिटर चुक बनाएको छु, ५० लिटर बिक्री भइसकेको छभने सुन्तला बेचेरमात्रै रू एक लाख २० हजार आम्दानी भइसक्यो ।”
रेग्मीको कृषि फार्ममा रहेका बोटमा अझै लटरम्मै पाकेका सुन्तला छन् । “सुन्तला जोनले चाँडो नटिप्नु, गुणस्तर बिग्रिन्छ भनेको भएर यी सुन्तला टिपेको छैन” उनले थपे, “यी पाकेका सुन्तला पुस लागेपछि टिप्न सुरू गर्ने तयारी छ ।”
सुरूआती अवस्थामा अमिला जातका फलफूल लगाउन सुन्तला जोनबाट सिँचाइमा ५० प्रतिशत अनुदान, बिरूवामा ५० प्रतिशत अनुदान, थोपा सिँचाइमा अनुदान, औजारमा समेत अनुदान पाएको रेग्मीको भनाइ छ । “पहिला पाँच सय मिटर तल रहेको खोलामा जेनेरेटरबाट विद्युत् निकालेर बोरिङबाट पानी तानेर सिँचाइ गर्दासमेत अनुदान आएको थियो”, उनले भने, “एक महिना अगाडि राष्ट्रिय प्रसारण लाइनको विद्युत् आइपुगेपछि अहिले सिँचाइलाई सहज भएको छ ।”
फलफूलका बिरूवाहरूमा गोडमेलसहित खर्चमात्रै वार्षिक १० लाख हुने गरेको भन्दै उनले यस वर्षबाट खर्चभन्दा आम्दानी बढी हुन लागेको बताए । “गत वर्षसम्म लगानी गरेको पैसा पनि उठेको थिएन, बर्सेनि ४० ट्र्याक्टर त मल गाईभैँसीको मल नै हाल्नुपर्छ,” उनले भने, “यस वर्षबाट भने सबै खर्च कटाएर रू तीन लाख बढी बचत हुने अनुमान गरेको छु ।”
रेग्मीले कृषिफर्मसँगै यहाँ आउने पर्यटकहरूका लागि खाने र बस्ने सुविधासमेत उपलब्ध गराउँदै आएका छन् । उनले १० जनासम्मलाई खान र बस्न मिल्ने गरी घरबास सञ्चालन गरेको बताए ।