क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
नेपाल र चीनबीच राजधानी बेइजिङमा ९ वटा समझदारीपत्र (एमओयू)तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणमा क्रममा मंसिर १८ मा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। टोखा–छहरे सुरुङमार्ग निर्माणदेखि बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकललगायत ९ सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्य तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सहसचिव बुद्धिसागर लामिछाने र पूर्वअर्थसचिव शिशिर ढुंगानालाई मंसिर २० गते दोषी ठहर गरेको हो। दोषी ठहर भएका चार जनालाई अदालतले विभिन्न अवधिको कैद सजायसमेत तोकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २२ मा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुमफिरमा आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकले मंसिर १६ मा निकालेको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। उक्त तथ्यांकअनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ।
प्रहरीले गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली स्वकीय सचिवलाई पक्राउ गरेको छ। गृहमन्त्रीको नक्कली पिए भन्दै धम्काउने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई धुम्बाराहीबाट मंसिर २० मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। मन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषयबारे थाहा पाएपछि सूक्ष्म रूपमा जानकारी लिइरहेको थियो। नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको प्रहरीले बताएको छ।
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन सम्झौता भएको छ। मंसिर १८ मा भएको ९ बुँदे समझदारीमा छुटेको बिआरआई सम्झौतामा दुवै देश सहमतिमा पुगेसँगै एड फाइनान्सिङ मोडालिटीमा परियोजना कार्यान्वयन गरिने सम्झौता मंसिर १९ मा भएको हो। यसअघि बिआरआई परियोजना ग्रान्ट फाइनान्सिङ परियोजनामा थियो। सम्झौतासँगै नेपालले परियोजना अनुदानमा मागेको विषय समेटिएको दाबी नेपाली पक्षको छ।
सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ७ किलो कोकिन बरामद गरेको छ। विमानस्थलमा खटिएको सशस्त्र प्रहरीले मंसिर १६ मा विमानस्थल भन्सार सुरक्षावेस र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचका क्रममा ६ किलो ८४० ग्राम कोकिन बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताएका हुन्। उक्त कोकिन हाते ब्यागमा लुकाएर ल्याउने केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरिएको छ। कतार एयरवेजबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आशंकामा पक्राउ पर्नेको संख्या ७ पुगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। प्रहरीले मंसिर २० गते थप तीन जनालाई सट्टेबाजी आरोपमा पक्राउ गरेपछि उक्त संख्या ७ पुगेको हो। यसअघि प्रहरीले मंसिर १८ मा चार भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो।
अर्थतन्त्र संकटतिर धकेलिने चर्चा भइरहेका बेला सरकारले नेपालका आर्थिक विकास साझेदारलाई आर्थिक अवस्थाबारे ब्रिफिङ गरेको छ। अर्थमन्त्री पौडेलले मंसिर १७ मा विकास साझेदारसँगको बैठकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अर्थतन्त्र सही गतिमा हिँडिरहेको भरोसा दिलाएका हुन्। अर्थमन्त्री पौडेलले विकास साझेदारको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराए। विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्त्वपूर्ण आधारशिला भएकाले सहयोग जारी राख्न उनले आग्रह गरे।
नेपालमा तेलबालीको क्षेत्रफल र उत्पादन बढेको तथ्यांक कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सार्वजनिक गरेको छ। मन्त्रालयले मंसिर २१ सार्वजनिक गरेको तथ्यांकअनुसार तीन वर्षयता तेलबालीको क्षेत्रफल र उत्पादन बढ्दै गएको पाइएको हो। मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ५९ हजार हेक्टरमा खेती गरिएको तेलबाली २ लाख ८७ हजार मेट्रिक टन उत्पादन भएको छ। आर्थिक वर्ष २०७९/८० मा ३ हजार हेक्टर क्षेत्रफल थपिएर ८ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। नेपालमा तेलबालीका रूपमा तोरी बाली, सूर्यामुखीलगायतको खेती गरिँदै आएको छ।