काठमाडौं । दर्जनौ व्यवसायमा सफलता प्राप्त गरेको लक्ष्मी ग्रुप अब हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्ने भएको छ। पोखराबाट जन्मिएको व्यावसायिक घराना लक्ष्मी ग्रुपसँग अटोमोबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ, स्टिलपछि पोखरामै लक्जरी होटल ल्याउन लागेको हो। त्यसका लागि आवश्यक तयारी भइरहेको छ।
देशभर होटल बनाउने उद्देश्यसहित आएको लक्ष्मी ग्रुपले सुरुवात पोखराबाट गर्न लागेको हो। ग्रुपले गण्डकी प्रदेशको राजधानी पोखराको पामेमा ३५ रोपनी क्षेत्रफलमा पाँचतारे होटल निर्माण गर्ने तयारी थालेको हो। पोखराबाट नै २०३० सालमा लक्ष्मी मिठाई भण्डारबाट व्यवसायिक यात्रा सुरु गरेको व्यावसायिक घरनासँग विभिन्न भेन्चर छन्।
लामो समयदेखि होटल निर्माण गर्ने भनिए पनि विभिन्न कारणले रोकिँदै आएको थियो। अब भने होटल निर्माण गर्ने निश्चित मात्र भएको छैन, मंसिर महिनाभित्रै शिल्यान्यासको तयारी छ। योसँगै लक्ष्मी ग्रुपको पहिलो पटक हस्पिटालिटी क्षेत्रमा प्रवेश हुनेछ।
ग्रुपका निर्देशकका अनुसार अहिले होटलको डिजाइन अन्तिम चरणमा पुगिसकेको छ। ‘डिजाइन फाइनल हुनेबित्तिकै होटलको शिल्यान्यास हुन्छ,’ ती निर्देशकले भने, ‘मंसिरको तयारी छ, सम्भव नभए माघमा हुन्छ।’ यसअघि २० देखि २५ रोपनी मात्र जग्गा थियो। केही वर्षअघि मात्र जग्गा थपेर ३५ रोपनी बनाएको ती निर्देशकको भनाइ छ।
पोखराकै सबैभन्दा उत्कृष्ट होटल बनाउने तयारी लक्ष्मी ग्रुपको छ। कूल १२० कोठा हुने होटलमा २ अर्ब ५० करोडभन्दा बढी लगानी हुनेछ। २ वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण हुन लागेको होटलमा विदेशी व्यवस्थापन भित्र्याइने छ। होटलको नाम भने गोप्य राखिएको छ।
‘व्यवस्थापनको जिम्मेवारी विदेशीलाई नै दिन्छौँ,’ ती निर्देशकले भने, ‘निर्माणको अन्तिम चरणमा पुगेपछि मात्र सम्झौता गर्छौं, अहिले कुरा चलिरहेको छ।’ सुरुमै विदेशी व्यवस्थापन ल्याउँदा खर्च बढ्ने भएकाले निर्माण सम्पन्न हुने बेला मात्र सम्झौता गर्ने तयारीमा लक्ष्मी ग्रुप छ।
शान्त वातावरणको खोजीमा आउने स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई लक्षित गरी पामेमा निर्माण हुने होटलले सबैको मन जित्न सक्ने ती निर्देशकको दाबी छ।
देशभरि यस ग्रुपको २० भन्दा बढी कम्पनी छन्। जसमा १ हजार ७ सयभन्दा धेरैले रोजगारी पाएका छन्। सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल हुण्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमाँ इन्टरकन्टिनेन्टल, जयमाँ लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन्। लक्ष्मी ग्रुपको होटल बनेसँगै पोखरामा चौथो पाँचतारे होटेल हुनेछ।