काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्याप्त यात्रु नपाएको भन्दै फ्लाई दुबई र एयर एसियाले पनि उडान रोक्ने भएका छन्। यात्रु नपाएर खाली जहाज उडाउँदा घाटा भएको बताएर कतार एयर उड्न छाडेको एक साता नबित्दै गौतमुबद्ध विमानस्थलमा थप दुई एयरलाइन्सले उडान नगर्ने भएका हुन्।
दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले भैरहवाबाट उडान सुरु गरेको थियो।
श्रम स्वीकृति, भिसा, कार्गो, मेडिकल जाँच, क्वारेन्टाइन जस्ता सेवा भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यताको कारण यात्रु पाउन छाडेपछि फ्लाई दुबई र एयर एसियाले गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्न नसक्ने भन्दै तत्कालका लागि उडान रोक्ने जानकारीसहितको निवेदन बुधबार विमानस्थलमा दर्ता गराएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च कर्मचारीका अनुसार गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्न नसक्ने बेहोरासहितको पत्र दर्ता भएको छ। ‘पत्र दर्ता भएको जानकारी प्राप्त भएको छ,’ ती कर्मचारीले भने, ‘कहिलेबाट उडान रोक्ने भन्ने विषय बाहिरिएको छैन।’ तर, फ्लाई दुबई र एयर एसिया तत्कालीन संरचनामा कुनै फेरबदल नभए नियमित उडान नगर्ने पक्षमा पुगेको स्रोतको दाबी छ। कतार एयरवेजले पनि यात्रु नभएकै कारण उडान रोकेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको क्रममा दैनिक १० घण्टा बन्द भएको कारण देखाएर अन्तर्राष्ट्रिय उडान गर्दै आएका एयरलाइन्सलाई भैरहवाबाट उडान गर्न दबाब दिइएको थियो। नियामक प्राधिकरणले नै भैरहवामा अनिवार्य उडान गरेपछि मात्र काठमाडौंको उडान तालिका स्वीकृति गर्ने भनेपछि बाध्य भएर कात्तिकदेखि भैरहवामा ती एयरलाइन्सले उडान भरेका थिए।
तर, केही समयसम्म उडान गर्दा यात्रुनै नभएपछि सञ्चालन खर्च घाटामा गएसँगै भैरहवाबाट हुने उडान एयरलाइन्सले रोकेका थिए। कतारले वाइडबडी जहाज सञ्चालन गरे पनि पर्याप्त यात्रु पाएन। फ्लाई दुबई र एयर एसियाले पनि न्यारोबडी जहाजमा २० देखि २५ जना यात्रुसमेत पाउन मुस्किल पर्ने गरेको थियो।
तीन एयरलाइन्सले उडान रोक्ने भएपछि हाल जजिरा र नेपाल एयरलाइन्सले मात्र नियमित उडान गर्नेछन्। ‘हामी पनि खाली जहाज उडाइरहेका छौं,’ नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले भने, ‘सरकारको कुरा मान्नै पर्ने भएकाले मात्र भैरहवा गैरहेका छौं, तर घाटामै उडान भइरहेको छ।’ हाल भैरहवाबाट जजिरा एयरले मात्र दैनिक उडान गर्दै आएको छ।
महिना दिन पनि टिकेन भैरहवाबासीको खुसी
एकैसाथ गौतमबुद्धबाट ५ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको भन्दै भैरहवाबासी खुसी भएका थिए। अन्तर्राष्ट्रिय विमानस्थल लक्षित बनाइएका होटलसमेत भरिने आस थियो। तर, उनीहरुको आशा एक महिना पनि टिकेन। ५ मध्ये ३ एयरलाइन्सले उडान रोक्ने घोषणा गरे।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जहाज सञ्चालनमा सरकारी सहयोग नभएका कारण नियमित उडान हुन नसकेको बताए। ‘एयरलाइन्सले व्यापार गर्ने हो, जहाँ नाफा हुन्छ, त्यही उडान गर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘घाटाको उडान गर्नुभन्दा रोकेकै राम्रो भयो, हामीलाई अहिलेको उडानले खासै फाइदै छैन।’ हाल उडान रहेका जहाजबाट यात्रु होटलसम्म बस्न नआउने गरेको र पर्याप्त यात्रु पनि नपाउने स्थिति रहेको उनको भनाइ छ।
सरकारले गरेन वाचा पूरा
सरकारले विमानस्थलसँगै वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक स्वीकृत भैरहवाबाटै दिइने व्यवस्था गर्ने भनेको वर्षौं भइसक्दा पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। साेही कारण श्रम स्वीकृतिदेखि मेनपावरको खोजीसम्म गर्न काठमाडौंमै पुग्नुपर्ने भएपछि भैरहवाबाट उड्न मात्र नजाने गरेको बताइन्छ। श्रम, मेडिकल, भिसालगायत सेवा दिने कार्यालय सञ्चालन नहुदा समस्या भोग्दै आएका छन्।
मन्त्रीको लर्को, हुँदैन काम
गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै सरकारका मन्त्रीहरु भैरहवा पुगेकै हुन्छन्। मंसिरमा मात्र दुई तीनचोटि पर्यटनमन्त्री भैरहवा पुगे। श्रममन्त्री, अर्थमन्त्री पनि पुगे।
तर, श्रम स्वीकृतिदेखि मेनपावर खोज्न काठमाडौंमै पुग्नुपर्ने भएपछि भैरहवाबाट उड्न मात्र नजाने गरेको बताइन्छ। श्रम, मेडिकल, भिसालगायत सेवा भैरहवाबाट सुरु गर्ने निर्णय भने गराउन सकेका छैनन्।
बुधबार पनि पर्यटनमन्त्री बद्री पाण्डे र श्रममन्त्री शरतसिंह भण्डारी भैरहवा पुगेका छन् भने अर्थमन्त्री विष्णु पौडेल बिहीबार जाँदै छन्। उनीहरु जति पटक पुग्छन्, त्यति नै पटक विमानस्थल चलाउने विषयमा छलफल गर्छन्। तर, निर्णय कार्यान्वयन गर्न सक्दैनन्।