काठमाडौं। नेपाल राष्ट्र बैंकमा दोस्रो तहमा रहेका अधिकृतको ‘ज्यूहजुरी’ अर्थात् चाकडी सुरु भएको छ। एक वर्षभित्रै केन्द्रीय बैंकको पहिलो तहमा रहेका दर्जन बढी अधिकृत अवकाशको लाइनमा रहेसँगै अन्य कर्मचारीले निर्देशकहरूको चाकडी सुरु गरेका हुन्।
उमेर हद र सेवावधिका कारण एक वर्षभित्रै करिब १४ कार्यकारी निर्देशक आगामी वर्षकाे मंसिरसम्म अवकाशमा जाँदैछन्। उनीहरु अवकाश हुने समय नजिकिएसँगै तल्लो तहका कर्मचारी भविष्यका हाकिम रिजाउने गरी चाकडीमा लागेका हुन्।
राष्ट्र बैंकमा पहिलो पटक छोटो समयमै ठूलो संख्यामा कार्यकारी निर्देशक बाहिरिन लागेका हुन्। २०८१ भित्र राष्ट्र बैंकबाट ५ जना कार्यकारी बिदा हुँदैछन्। गभर्नर कार्यालयका नेफिल मतांगी माघमा, पिताम्बर भन्डारी, एसेट म्यानेजमेन्ट विभागका सुमन अधिकारी, गैरबैंकिङ सुपरिवेक्षण विभागका रामबहादुर मानन्धर र सूचना टेक्नोलोजीका मुकुन्द क्षेत्री चैतमा सेवावधिका कारण अवकाश हुँदैछन्।
अर्को वर्ष २०८२ मंसिरअगावै अवकाश हुनेमा इन्टरनल अडिटका नरेश शाक्य, भुक्तानी प्रणाली विभागका डा. प्रकाशकुमार श्रेष्ठ (हाल योजना आयोग सदस्य), जनशक्ति व्यवस्थापन विभागका तुलसीप्रसाद घिमिरे, माइक्रो फाइनान्स सुपरिवेक्षणका विमलराज खनाल, फाइनान्सियल म्यानेजमेन्टका रामप्रसाद गौतमले अवकाश पाउँदैछन् भने कर्पोरेट प्लानिघ एण्ड रिस्क म्यानेजमेन्टका ऋषिकेश भट्ट र आर्थिक अनुसन्धान विभागका डा. गुणाकर भट्ट भदौमा, करेन्सी म्यानेजमेन्ट विभागका प्रदीपराज पौडेल र विदेशी विनिमय विभागका रेवतीप्रसाद नेपाल आगामी वर्षको मंसिरअगावै अवकाश हुँदैछन्।
एक वर्ष अवधिमा बाहिरिने कार्यकारी निर्देशक दर्जन कटेसँगै उनीहरुको स्थानमा बढुावा हुने उपकार्यकारीसमेत एक दर्जन नै छन्। किरण पण्डित, डा. सतेन्द्र तिमल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीाराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई एक वर्षभित्र राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनेछन्।
राष्ट्र बैंकको विभागीय प्रमुख रहेका कार्यकारी निर्देशक बाहिरिने समय नजिकिएसँगै तल्लो तहका कर्मचारीकाे बेथिति सुरु भएको राष्ट्र बैंकबाट यही वर्ष बाहिरिन लागेका एक कार्यकारी निर्देशक बताउँछन्।
‘४/५ महिना बाँकी रहेका विभागीय प्रमुखलाई अटेर गर्ने कर्मचारी धेरै हुन्छन्, बरु उसको ठाउँमा को आउँछ वा बढुवा भएर हाकिम हुने तहमा पुगेका उपनिर्देशकको ‘ज्यूहजुरी’ राम्रैसँग गरिरहेका हुन्छन्,’ ती कार्यकारी निर्देशकले भने, ‘भोलि आउनेलाई अहिलेदेखि नै खुसी बनाएर आफ्नो पक्षमा काम गराउन लागिपर्ने कर्मचारी राष्ट्र बैंकमा धेरै छन्।’
राष्ट्र बैंकभित्र मौलाएको बेथितिका कारण अहिले दैनिक कामकारबाही प्रभावित भएको उनको भनाइ छ। ‘अब फस्ट क्लास हुने लाइनमा भएको विभाग केही होला, नभए विभागीय प्रमुखलाई नटेर्ने कर्मचारी अहिले धेरै भइसकेका छन्,’ उनले भने, ‘यस विषयमा राष्ट्र बैंक उच्च व्यवस्थापन समितिमै कुरा उठेको हो। गभर्नर सा‘ब आफ्नै कार्यकालको अन्तिममा हुनुहुन्छ। त्यसैले उहाँ प्रायः मौनै बस्नुहुन्छ।’
राष्ट्र बैंकको विभागीय नेतृत्व परिवर्तनको सम हुने बेथितिले समग्र बैंकिङ प्रणालीमै प्रभाव पार्न सक्ने उनको भनाइ छ। आन्तरिक बेथितिका कारण नियमन र सुपरिवेक्षणको दायरामा राख्नुपर्ने बैंक तथा वित्तीय संस्थाले समेत अवकाशको संघारमा रहेका कार्यकारी निर्देशकलाई अटेर गर्न सक्ने उनको भनाइ छ।