काठमाडौं। नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो।
द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी वातावरण सुधार हुँदै गइरहेको बताए। उनले नेपालमा धेरै क्षेत्र पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे।
नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनको भनाइ छ।प्रधानमन्त्री ओलीले कुनै पनि मुलुककोसरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको जानकारी दिए। उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैं तत्पर रहेको बताए।
उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकामा महासंघको प्रशंसा गरे। चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए।
नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ छ। सिसिपिआइटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको जानकारी दिए।
नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए। चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने धारणा व्यक्त गरे।
चीनले डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए। ‘चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो देश हो। नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार छ’, उनले भने।
उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । यो समिटको दोस्रो संस्करण हो। महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षे अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए। ‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठ वटा कानुन संशोधन गरेको छ’, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘यसैगरी द्विपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ।’
पहिलो पटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि उनले गराए। यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ छ।
अध्यक्ष ढकालले सीमा क्षेत्रका पूर्वाधारलगायत स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सीधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए। उनले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए।
पछिल्लो समय पर्यटन पूर्वाधार जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले जानकारी दिए। नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे। लगानी वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाए।
उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने विश्वास दिलाए। चीनले डिसेम्बर १ देखि आप्mनो कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे।
सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। उनले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए। महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने जानकारी उनले गराए।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए।
महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरे।
नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए। समिटमा १२० जना चिनियाँ व्यवसायीको सहभागिता रहेको थियो।
नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो। समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारी सहभागी थिए।