काठमाडौं। कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भइरहेका छन्।
हाल चितवन प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रविमाथि सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा केरकार भइरहेका आज पर्सा प्रहरीले उनीविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको हो।
रविको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि लिन थालिए पनि थप कुरा बुझ्न आज पुनः बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
गत मंसिर १३ मा काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणबारे बुझ्न पोखराबाट राजधानी ल्याइएका रविलाई मंगलबार बिहान बुद्ध एयरको जहाज चढाएर चितवन लगिएको थियो।
सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो। सहकारी प्रकरणमै गत कात्तिक २ मा रविलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर रातारात गाडीमार्फत पोखरा लगेको थियो।
बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगञ्जको सानो पाइलालगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोड बढी रकम गोलमाल भएको प्रहरीको प्रारम्भिक छानबिनले देखाएको छ। सोही प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको छ।
रविविरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी अनुमति लिएको हो।
सहकारी ठगी प्रकरणमा मुछिएका रविमाथि संगठित अपराधमा समेत मुद्दा चलाउने तयारी प्रहरीको छ। प्रहरीले रविको बैंक खाता शंकास्पद देखिएपछि सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको छ।