काठमाडौं। लगातार दुई दिन बढेको सेयर बजारमा फेरि गिरावट आएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा रोकिएको छ।
पछिल्लो केही कारोबार दिन यता नेप्से २८०० नजिक पुगेपनि सो बिन्दुलाई छुन सकेको छैन। आज नेप्से २७९५.७८ बिन्दुसम्म पुगेको थियो भने मंगलबार पनि २७९३.०३ बिन्दुसम्म पुगेर कारोबार बन्द हुँदा २७७५ बिन्दुमा खुम्चिएको थियो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको थियो। सोमबार पनि नेप्से १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा बन्द भएको थियो।
बुधबार नेप्सेमा कुल ९ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार खाँनीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। यस्तै, अन्य तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ।
आज सपोर्ट लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।
बुधबार जलविद्युत समूहमा ०.५९ प्रतिशत, उत्पादन समूहमा ०.१४ प्रतिशत र लघुवित्तमा ०.१२ प्रतिशतको वृद्धिबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।