काठमाडौं। व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रालिको सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक यात्रा सुरु गरेको छ।
ललितपुरको पुल्चोकमा अवस्थित कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ। कलेजले शिक्षा मन्त्रालयवाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो।
कलेजले विश्व वरीयतामा शीर्ष १५ प्रतिशतमा ¥यांक भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) जस्ता विषय सञ्चालन गरेको जनाएको छ।
रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले भने, ‘करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। साझेदारीले स्थानीय समुदायमा मेल खाने शिक्षण प्रदान गर्नेछ, जसले सबै किसिमको पृष्ठभूमि भएका मानिसका लागि नयाँ अवसर खोल्नेछ।’
कलेजका अध्यक्ष शेखर गोल्छाले नेपालको वर्तमान अवस्थालाई लक्षित गर्दै इम्बार्कमा लगानी गरिएको जानकारी दिए। ‘उद्यमशीलता विकासमा केन्द्रित भएर हामी इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावरहाउसको रूपमा स्थापित गर्नेछौं। ‘अन्टपे्रन्योर्स बिल्ड नेसन’ नारासहित कलेजलाई अगाडि बढाउने लक्ष्य छ।’
ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशीष ठाकुरले इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहने बताए। कलेज स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने दृष्टिकोणकाे विकास गर्ने अपेक्षा उनले व्यक्त गरे। कलेजले एमबीएमा भर्ना हुने विद्यार्थीलाई इन्डष्ट्री कनेक्टसहित प्लेसमेन्ट मोडालिटीमा लैजानेबारे विभिन्न उद्योगसँग सहकार्य गर्ने कार्यक्रममा जानकारी दिइयो।
कलेजले प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १० प्रतिशत पूर्ण छात्रवृत्ति पनि उपलब्ध गराउने र त्यसमा विश्वविद्यालय शुल्कसमेत समावेश हुने उल्लेख छ।