काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जासचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली दूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनी उद्घाटन गरे।
फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्नेछ।
फोटो प्रदर्शनीमा नेपाल सरकार र एडिबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्याएकोमा एडीबीलाई धन्यवाद दिए। ‘’धेरै सकारात्मक काम भर्खरै सम्पन्न भएका छन्। नेपालको ऊर्जा क्षेत्रको विकासमा एडिबीले पुर्याएको सहयोगमा धन्यवाद दिन चाहन्छु,’ राज्यमन्त्री तामाङले भने।
एडिबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए। त्यस्तै उनले न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा समेत पुगेको धारणा व्यक्त गरे।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडिबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भइरहेको जानकारी दिए। उनले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएकामा एडिबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताए।
फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको छ।