काठमाडौं। स्थानीय उत्पादन प्रचार–प्रसार गर्न होस् वा बिक्री गर्न, व्यापार बढाउन होस् या ब्रान्डिङ गर्न। पर्यटक आकर्षण गर्न होस् या कला संस्कृति प्रवद्र्धन गर्न। सबैजसो कामका लागि पहिलो रोजाइ बन्दै गएको छ–प्रदर्शनी तथा मेला–महोत्सव। केही समय अघिसम्म नेपालमा उत्पादित सामग्री खरिद–बिक्री तथा प्रचार–प्रसारका लागि परम्परागत माध्यम हुन्थे, ‘हाटबजार तथा मेलाहरू।’ परम्परागत हाटबजार प्रायः एकै ठाउँ सातामा एक दिन मात्रै लाग्थ्यो। खासगरी स्थानीय स्तरमा उत्पादित सामग्री बिक्री गर्ने तथा अवलोकन गराउने एउटै मात्र थलो हुन्थे, हाटबजार।
तर, अहिले आफ्ना उत्पादन बिक्री तथा प्रसार–प्रसारका लागि ग्रामीण क्षेत्रदेखि मुलुकका मुख्य–मुख्य सहरमा अनेकौं उपाय अवलम्बन गर्न सकिने अवस्था बनेको छ। ठूला औद्योगिक उत्पादनले सार्वजनिक सञ्चार माध्यमबाट प्रचार–प्रसार गरे पनि सानातिना तथा स्थानीय स्तरमा उत्पादित सामग्रीका लागि सार्वजनिक सञ्चार माध्यम सहज बनिसकेको छैन। त्यस्ता स्थानीय उत्पादन प्रचारका लागि पछिल्लो समय सामाजिक सञ्जालले केही सहयोग गरे पनि पर्याप्त नहुँदाको विकल्पका रुपमा मेला महोत्सव महत्त्वपूर्ण हुने गरेका छन्।
विभिन्न ठाउँमा साताको एक दिन लाग्ने हाटबजार रोकिएका छैनन्। तर, अहिले संयुक्त रुपमा ठूला–ठूला मेला, महोत्सव तथा प्रदर्शनी भइरहेका छन्। संघ, प्रदेश, जिल्ला, पालिका, वडा मात्रै होइन, स्थानीय टोलमा समेत विभिन्न मेला र प्रदर्शनीले वार्षिक अर्बौं रुपैयाँ बराबरको कारोबार गर्ने वातावरण बनिरहेको छ। यस्ता प्रदर्शनी र मेला–महोत्सवले एकातिर उत्पादनलाई बजार दिएको छ भने अर्कोतिर नयाँलाई ब्रान्डिङको थलो उपलब्ध गराएको मात्र होइन, लोपोन्मुख सामग्रीलाई संरक्षण गर्ने ‘प्लेटफर्म’ पनि दिएको छ। समग्रमा मेला महोत्सव स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान बनाउने गतिलो माध्यम बनेको छ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अनुसार महासंघ र महासंघमा आबद्ध तल्लो स्तरका संस्थाले हरेक वर्षमा करिब ११०–११५ वटा मेला–महोत्सव आयोजना गर्छन्। महासंघ उपाध्यक्ष एवं वस्तुगत परिषद् सभापति हेमराज ढकालका अनुसार यस्ता मेला–महोत्सव माथिल्लोदेखि तल्लो तहसम्म हुने गर्छ। ‘सयौंको संख्यामा हुने मेला–महोत्सवले स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरणमा सहयोग गर्छ,’ ढकालले भने, ‘आर्थिक गतिविधि चलायमान बनाउन र नेपाली उत्पादनलाई बजारमा चिनाउन मेला–महोत्सव महासंघकै पहलमा सञ्चालन गर्छौं।’
स्थानीय स्तरसम्म ठूलो मात्रामा हुने व्यापार मेला तथा महोत्सव आयोजना गर्दा उद्योगी, व्यापारी तथा ग्राहकलाई समेत फाइदा पुग्ने ढकालको दाबी छ।
महासंघ मात्रै होइन, नेपाल चेम्बर अफ कमर्सले पनि सानाठूला गरी ठूलै संख्यामा यस्ता व्यापार मेला–महोत्सव तथा प्रदर्शनी आयोजना गर्ने गर्छ। चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म साना ठूला मेला महोत्सव सयौंको संख्यामा आयोजना गरिँदै आएको बताउँछन्। ठूला र मध्यम स्तरका व्यापार मेला–महोत्सव तथा प्रदर्शनी मात्रै वर्षमा करिब २७÷२८ वटा हुने गरेको मल्लको भनाइ छ।
‘चेम्बरले विशेषगरी कृषि उत्पादन, बजारीकरण र व्यापारलाई प्राथमिकतामा राखेर मेला–महोत्सव गरिने गरेको छ,’ मल्ल भन्छन्, ‘शिथिल अवस्थाको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापार व्यवसाय फस्टाउन मेला–महोत्सवले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन्।’ चेम्बरले विभिन्न निकाय तथा संस्थासँग सहकार्य गरेर पनि ठूलो संख्यामा साना–ठूला व्यापार मेला तथा प्रदर्शनी आयोजना गर्दै आएको मल्लले जानकारी दिए।
मेला–महोत्सवमा सञ्चालन गरिने भनिरहँदा त्यसमा धेरै किसिमका मानिस र व्यवसाय जोडिन्छन्। मेला–महोत्सव आयोजना गर्ने निर्णयदेखि समापन नहुँदासम्म जोडिने धेरै संस्था र व्यक्ति आम्दानीको स्तरसम्म पुग्छन्। सामान्यतया कुनै पनि काम निःशुल्क नगरिने र अझ मेला–महोत्सव आयमूलक मञ्च भएकाले त्यसबाट धेरैलाई रोजगारीसमेत मिल्ने गर्दछ। कतिपय अवस्थामा मेला आयोजकका विभिन्न कम्पनी नै सञ्चालनमा रहेको पाइन्छ।
सामान्यतया हाटबजारमा जस्तो मेला–महोत्सवमा जोकोहीले निःशुल्क प्रवेश नपाउन सक्छ। मेला–महोत्सवमा प्रवेश शुल्कदेखि भित्र प्रवेश गरेसँगै त्यहाँ भएका विभिन्न मनोरञ्जनका साधन प्रयोग र खेलकुदमा सहभागी हुँदा पनि शुल्क लिने गरिन्छ। यस्तै, मेला–महोत्सवमा गइसके पनि केही न केही चीज खरिद गर्ने गरिन्छ। अझ धेरैजसो मेला–महोत्सवमा दोहोरी गीत तथा विभिन्न सांस्कृतिक कार्यक्रम चलाइने भएकाले कलाकारलाई समेत मनग्य आम्दानी गर्ने अवसर मिल्छ।
अतः मेला–महोत्सवले स्थानीय उत्पादन र सम्भावना उजागर गर्छ। मेला–महोत्सवका कारण स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्छ। केन्द्रीय स्तरबाट गरिने कार्यक्रमले पनि सुस्ताइरहेको व्यवसायमा वृद्धि ल्याउन मद्दत गर्ने अपेक्षा गरिन्छ। व्यापार मेला तथा महोत्सव र प्रदर्शनीले ‘बिजनेस टू कन्जुमर’, ‘कन्जुमर टू कन्जुमर’को रूपमा आर्थिक गतिविधि चलायमान बनाउन मद्दत गर्दछ। हरेक वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने ‘नाडा अटो शो’ र नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्ने घरजग्गा मेलाको मुख्य उद्देश्य नै व्यापार व्यवसाय विस्तार गर्नु हो। नाडा अध्यक्ष करण चौधरीका अनुसार नाडा अटो शोका माध्यमबाट २०–२५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। नाडाले नेपाल उद्योग वाणिज्य महासंघसँगै मिलेर प्रदेशगत रुपमा पनि नाडा अटो शोजस्तै सवारी प्रदर्शनी तथा मेला आयोजना गर्छ। चालू वर्षमा पनि नाडाले ‘नाडा अटो शो २०२४’ भदौ ११–१६ सम्म काठमाडौंमा सम्पन्न गरिसकेको छ।
बसोबास नेपालले ‘बसोबास प्रपर्टी इभेन्ट’ आयोजना गर्दै आएको छ। यस्ता इभेन्टमा करोडौं रुपैयाँ कारोबार गर्ने लक्ष्य लिइएको हुन्छ। २०८० पुस ७ मा बसोबास नेपालले गरेको बसोबास प्रपर्टी इभेन्ट नामक एकदिने घरजग्गा मेलामा ५० करोड बढीको आर्थिक कारोबार भएको बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बताउँछन्। घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पु¥याउने उद्देश्यसहित ठूला डेभलपरले पनि बेलाबेला विभिन्न कार्यक्रम आयोजना गर्छन्। ठूला इभेन्ट आयोजना गर्नेहरूले मेला–महोत्सवकै बेला आफ्ना उत्पादनमा विशेष छुट र सहुलियत राखेर ग्राहक आकर्षण गर्छन्। विशेष छुट पाएर अघिपछिभन्दा कतिपय वस्तु तथा सेवाको मूल्य कम पर्ने भएपछि मानिस आफ्ना आवश्यकता पूर्ति गर्न यस्ता मेला–महोत्सव पर्खने गर्दछन्।
नेपाल उद्योग परिसंघले पनि बर्सेनि व्यापार मेला, महोत्सव तथा प्रदर्शनी आयोजना गर्छ। परिसंघका निर्देशक हिमाल पौडेलका अनुसार परिसंघबाट वर्षमा ८–१० वटा मेला महोत्सव आयोजना हुने गरेका छन्।
एउटा व्यापार मेला–महोत्सव तथा प्रदर्शनीमा सामान्यतया न्यूनतम १० लाखदेखि २० करोड रुपैयाँसम्मको कारोबार हुने गर्छ। यस्तै, कतिपय ठूला व्यापार मेलामा १ अर्ब रुपैयाँ हाराहारी कारोबार हुने गरेको छ। यसले पनि देखाउँछ, मुलुकको अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला–महोत्सव तथा प्रदर्शनीको महत्त्व। नेपालमा वार्षिक २ सय बढी सानाठूला मेला–महोत्सव हुने गरेको र औसतमा १० करोड बराबरको कारोबार हुँदा पनि वार्षिक २० अर्ब रुपैयाँको कारोबार हुने देखिन्छ।
विगतमा सञ्चालित मेला–महोत्सवमा व्यावसायिक कारोबार
पाँचौं दमक महोत्सव
दमक उद्योग वाणिज्य महासंघले २०८० माघ २८ देखि फागुन १२ सम्म पाँचौं दमक महोत्सव सञ्चालन गरेको थियो। १५ दिनसम्म चलेको महोत्सव १ लाख बढीले अवलोकन गरेको र ५ करोड बराबरको आर्थिक कारोबार भएको दमक उद्योग वाणिज्य महासंघ अध्यक्ष गोपाल गुरागाईंले बताए। ‘अहिले सुस्त रहेको बजारलाई चलायमान बनाउन मेला–महोत्सव अति आवश्यक छ,’ ‘उनले भने, ‘आर्थिक मन्दीको मार खेपिरहेका व्यापारीका लागि महोत्सवले केही राहत दिने विश्वासका साथ महोत्सव सञ्चालन गरेका हौं।’
बीसौं हस्तकला व्यापार मेला
नेपाल हस्तकला महासंघले २०८० मंसिर २८ देखि पुस २ सम्म २०औं हस्तकला व्यापार मेला आयोजना गरेको थियो। महासंघले हरेक वर्ष आयोजना गर्दै आएको मेलामा २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महासंघ अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए।
‘स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै ठाउँ भेला गराई बजारीकरणमा सहयोग पु¥याउने काम मेलाले गरेको छ,’ शाक्यले भने।
अन्तर्राष्ट्रिय महिला उद्यमी मेला
२०८० चैत १६ देखि २० सम्म काठमाडौंमा सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सञ्चालन भएको थियो। पाँच दिनसम्म सञ्चालित मेला १० हजार बढीले अवलोकन गरेका थिए। स्वदेशी महिला उद्यमीबाट उत्पादित वस्तु तथा उत्पादन प्रदर्शनीमा राखिएको मेलाले नेपाली उत्पादनलाई बजारीकरण प्रयास गरेको थियो। महिला उद्यमी महासंघ नेपाल (एफविन) अध्यक्ष शोभा ज्ञवालीका अनुसार उक्त मेला अवधिभर करिब २ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
सीप मेला
काठमाडौं महानगरले आयोजना गरेको सीप मेला २०८१ वैशाख १९ देखि टुँडिखेलमा सञ्चालन गरिएको थियो। एक महिनासम्म चलेको मेलामा १० हजार बढीले आवेदन दिएका थिए। महानगरले तीन वर्षसम्म मेला सञ्चालन गरी १५ हजारलाई तालिम दिने र ५ हजारलाई रोजगारी दिने लक्ष्य राखेको थियो।
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला
काठमाडौंको भृकुटीमण्डपमा २०८० वैशाख २६ देखि ३० सम्म १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरिएको थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको उक्त मेलामा २५० वटा स्टल सहभागी थिए २ लाख बढीले अवलोकन गरेका थिए। आयोजकका अनुसार मेलामा करिब ७ करोड रुपैयाँको आर्थिक कारोबार भएको थियो।
कञ्चनपुर पर्यटन महोत्सव
गत वर्ष फागुन २१ देखि चैत २ सम्म कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव आयोजना गरियो। महोत्सवमा करिब ३ करोड बढीको कारोबार भएको थियो। स्थानीय स्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवा मेलामा राखिएका थिए। महोत्सवमा विद्यार्थी सहुलियतमा २५ रुपैयाँ र सर्वसाधरणका लागि ५० रुपैयाँका दरले टिकट निर्धारण गरिएको थियो। यसको बिक्रीबाट मात्रै २० लाख आम्दानी भएको थियो।
बागलुङ महोत्सव
गत वर्षको पुस ११ देखि २२ सम्म सञ्चालन भएको सातौं सस्करणको बाग्लुङ महोत्सवको अवलोकन ८ लाखले गरे। बाग्लुङ उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा १० करोडको आर्थिक कारोबार भयो।
भक्तपुर घरेलु उत्पादन मेला
२०८० चैत १६ र १७ मा भक्तपुरको नःपुखु परिसरमा भक्तपुर घरेलु उत्पादन मेला आयोजना गरिएको थियो। मेलामा विभिन्न जिल्लाबाट ४० हजार बढी सहभागी थिए। मेलामा करिब १ हाराहारी व्यापार भएको थियो।
तनहुँ महिला उद्यमी मेला
२०८० फागुन २५ देखि २७ सम्म सञ्चालित तनहुँ महिला उद्यमी मेला ४० हजार बढीले अवलोकन गरे। यसमा करिब ८ लाख बढीको कारोबार भएको थियो।
चितवन महिला उद्यमी मेला
गत वर्ष असोज ६ देखि ८ सम्म चितवनमा भएको तीन दिने महिला उद्यमी मेला ९ हजार बढीले अवलोकन गरे। उद्योगी व्यवसायीको हकहित संरक्षण र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलामा ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको थियो।
पोखरा महोत्सव
युनाइटेड क्लबको आयोजनामा १२औं संस्करणको पोखरा महोत्सव २०८० पुस २६ देखि माघ ८ सम्म भएको थियो। महोत्सव २ लाख बढीले अवलोकन गरेका थिए भने १२ करोड बराबरको आर्थिक कारोबार भएको थियो। महोत्सवमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, कृषि, पर्यटकीय स्थललगायत २३० स्टल राखिएका थिए।
नाडा अटो मेला
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा २०८० भदौ २६ देखि ३१ सम्म काठमाडौंमा सञ्चालन गरिएको मेला ७६ हजारले अवलोकन गरेका थिए। मेलामा दुईपांग्रे, चारपांग्रेदेखि कमर्सियल गाडीसमेत प्रदर्शनी तथा बिक्रीका राखिएका थिए। मेलामा टायर, लुब्रिकेन्ट र स्पेयर पार्टस्सहितका १२० स्टल थियो। यसमध्ये ९ वटा बैंक तथा वित्तीय संस्थाले पनि स्टल राखेका थिए।
जिरी महोत्सव
२०८० चैत २३ देखि वैशाख २ सम्म उद्योग वाणिज्य संघ जिरीले दोस्रो जिरी महोत्सव आयोजना गरेको थियो। महोत्सव ३० हजार बढी दर्शकले अवलोकन गरेका थिए। महोत्सवमा डेढ करोड बढीको आर्थिक कारोबार भएको थियो।
क्यान इन्फोटेक
काठमाडौंको भृकुटीमण्डपमा गत वर्ष माघ २५ देखि २९ सम्म क्यान इन्फोटेको प्रदर्शनी भएको थियो। प्रदर्शनीमा करिब १५० स्टल सहभागी थिए। पाँच दिनसम्म चलेको प्रदर्शनीमा २ लाखले अवलोकन गरेका थिए।
भक्तपुर औद्योगिक महोत्सव
नयाँ वर्ष २०८१ लाई लक्षित गरी गत चैत २२ देखि भक्तपुरको सल्लाघारीमा ‘आठौैैं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना गरिएको थियो। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सवमा १५० स्टल सहभागी थिए भने एक सातामै १ लाखले अवलोकन गरेका थिए। १० दिनसम्म चलेको महोत्सवमा ८ करोड बढीको कारोबार भएको थियो।
सांस्कृतिक तथा फुड फेस्टिभल
सिन्धुलीमा गत वर्ष पुस २७ देखि माघ ७ सम्म ब्रदरहुड इभेन्ट एन्ड इन्टरटेनमेन्ट संस्थाले सांस्कृतिक तथा फुड फेस्टिभल आयोजना गरेको थियो। उक्त फेस्टिभलमा दैनिक उपभोग्य सामग्री, कृषि तथा हस्तकलाका सामाग्री तथा विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताचप्पल बिक्री स्टल राखिएका थिए। मेलामा १२ लाख हाराहारी आर्थिक कारोबार भएको थियो। १० दिनसम्म चलेको मेला १५ हजार बढीले अवलोकन गरेका थिए।
गोदावरी फूल मेला
गोदावरी फूल मेला २०८० कात्तिक १४ देखि १९ सम्म जावलाखेलमा भएको थियो। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले तिहारलाई लक्षित गरेर मेला आयोजना गरेको थियो। मेला ४५ हजारले अवलोकन गरेका थिए भने १ करोड १७ लाखको कारोबार भएको थियो। फ्यायन यस वर्षको तिहार आउनु केही दिनअघि पनि जावलाखेलमै पुष्पमेला आयोजना गरेको थियो।
अन्तर्राष्ट्रिय व्यापार मेला
२०८० मंसिर १४ देखि १८ सम्म काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको थियो। पाँच दिनसम्म चलेको मेला साढे २ करोडको कारोबार र २५ हजारले अवलोकन गरेका थिए। महासंघका उपाध्यक्ष हेमराज ढकालका अनुसार महासंघले देशैभरि गरी वर्षमा ११०–११५ वटा मेला, महोत्सव आयोजना गर्ने गरेको छ।
इच्छाकामना महोत्सव
२०८० भदौ २७ देखि असोज ७ सम्म चितवनको इच्छाकामना पालिकामा दोस्रो इच्छाकामना महोत्सव सञ्चालन भएको थियो। इच्छाकामनाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार १ करोड बढीको आर्थिक कारोबार र ५० हजार बढीले मेला अवलोकन गरेका थिए। ‘महोत्सवले स्थानीय उत्पादन पहिचानमा थप टेवा पु¥याएको विश्वास छ’, उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन पनि निरन्तर यस्ता मेला–महोत्सव आवश्यक छन्।’
दोलखा महोत्सव
दोलखा उद्योग वाणिज्य महासंघले २०८० पुस १३ देखि २२ सम्म दोलखामा दोलखा महोत्सव आयोजना गरेको थियो। यो महोत्सव १० दिनसम्म चलेको थियो। १ लाख बढीले महोत्सव अवलोकन र दैनिक ५० हजारको आर्थिक कारोबार भएको थियो।
रोजगार मेला
कामको खोजीका लागि चारैतिर भौंतारिनुुपर्ने बाध्यता हटाउने उद्देश्यले २०८० जेठ १६ र १७ मा नेपाल उद्योग वाणिज्य महासंघले रोजगार मेला सञ्चालन गरेको थियो। मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता रहेको थियो। सहभागी कम्पनीले ६ सय रोजगारी अवसर खुलाएका थिए।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०८० चैत १ देखि ५ सम्म सञ्चालन भएको थियो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन भएका थिए।
बनेपा कृषि महोत्सव
जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा २०८० फागुन ४ देखि ७ सम्म बृहत् कृषि महोत्सव आयोजना गरिएको थियो। कृषिजन्य उपज बिक्री वितरणबाट २ करोड रुपैयाँ, यन्त्र औजार उपकरण तथा प्रविधि (बिक्री तथा अर्डरसमेत) १ करोड ५० लाख, होटल व्यवसाय एवं रैथाने परिकार बिक्रीबापत १ करोड र गैरकृषितर्फ ५० लाख कारोबार र डेढ लाखले महोत्सव अवलोकन गरेका थिए।
चितवनको हात्ती महोत्सव
चितवनको सौराहामा क्षेत्रीय होटल संघ चितवनको आयोजनामा २०८० पुस १० देखि १४ सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव भएको थियो। सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीलाई विभिन्न फलफूलसहित खिर, केक र मन पर्ने घाँस दिएर भोज खुवाइएको थियो। पर्यटन सम्बद्धत गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउने लक्ष्यले महोत्सव आयोजना गरिएको थियो।
पाँचाैं बुटवल सडक खाना महोत्सव
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले २०८० पुस १४ देखि १६ सम्म जातजातिको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको थियो। डेढ लाख बढी दर्शकले अवलोकन गरेको महोत्सवमा २ करोड बढीको कारोबार भएको थियो।
सुदूरपश्चिम महोत्सव
कैलाली उद्योग वाणिज्य संघले २०८० मंसिर २२ देखि पुस ५ सम्म सुदूरपश्चिम महोत्सव आयोजना गरेको थियो। महोत्सव करिब ५ लाखले अवलोकन र १० करोड बराबरको कारोबार भएको थियो।
पाल्पा महोत्सव
आन्तरिक पर्यटक बढाउने उद्देश्यले २०८० वैशाख १४ देखि २४ सम्म पाल्पा उद्योग वाणिज्य संघले १३औं पाल्पा महोत्सव आयोजना गरेको थियो। १० दिनसम्म सञ्चालन भएको महोत्सवमा ८ करोड बढीको आर्थिक कारोबार र ३ लाख दर्शकले अवलोकन गरेका थिए।
मेला–महोत्सवले अर्थतन्त्रलाई दिर्घकालसम्म मद्दत पुर्याउँछ
नरबहादुर थापा, अर्थशास्त्री
बेलाबेला हुने मेला–महोत्सवले मुख्य रूपमा आन्तरिक पर्यटनको विकास तथा प्रवद्र्धन हुन्छ। आन्तरिक पर्यटन बढ्नु भनेको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान पुग्नु हो। सांस्कृतिक मेला–महोत्सवले हाम्रो कला–संस्कृतिको विकासमा मद्दत गर्छ। यसले समाजमा साहित्य कला, संस्कृतिको विकासमा पनि मद्दत पुर्याउँछ। मेला–महोत्सवले हाम्रो निश्चित उत्पादन र सामग्रीको ब्रान्डिङ गर्छ। कुनै विषयको ब्रान्डिङ हुनु भनेको हाम्रो अर्थतन्त्रमा योगदान पुग्नु नै हो। यसले अर्थतन्त्रलाई दीर्घकालसम्म मद्दत पुर्याउँछ। नेपालले विभिन्न समय मेला–महोत्सव तथा प्रदर्शनीलाई थप ब्रान्डिङ गर्न आवश्यक छ। यसले बजार चलायमान बनाउँछ।
एउटा मेला–महोत्सव हुँदै गर्दा होटल, रेस्टुरेन्टका खानेकुरा होस् वा उत्पादित सामान। सबैको बिक्री बढ्छ। यसर्थ, हामीले मेला–महोत्सवलाई सकारात्मक रुपमा लिनुपर्छ। मेला–महोत्सव गर्दा ब्रान्डिङमा पनि ध्यान दिनुपर्छ। ब्रान्डिङका लागि आवश्यक पर्ने विभिन्न किसिमका लोगो, चिन्ह बनाउनेदेखि महोत्सव आयोजक, पसल÷कबल चलाउने, कलाकार सबैले केही न केही आम्दानी गर्ने आधार तयार हुन्छ। सरकारले पनि मेला–महोत्सवलाई सकारात्मक रुपमा लिएर प्रोत्साहन गर्नु आवश्यक छ। स्थानीय सरकारले ठाउँ–ठाउँमा यस्ता मेला उत्सवका लागि खुला ठाउँ विकास गर्नुपर्छ।