काठमाडौं। नेपालकाे प्रमुख अटोमोबाइल डिलरको संस्था नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र चीनको चाइना काउन्सिल फर प्रमाेसन अफ इन्टरनेसनल ट्रेड, अटाेमाेटिभ सब-काउन्सिल (सिसिपिआइटी अटाे) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यो सहकार्यले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्दै अटोमोबाइल क्षेत्रमा व्यापार प्रवर्द्धन र दिगो विकासको दिशामा नयाँ संभावना खुलाउने विश्वास नाडाले गरेकाे छ।
समझदारीअन्तर्गत दुवै पक्षले अटोमोबाइल क्षेत्रमा व्यापार प्रवर्द्धन, ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र दिगो अभ्यासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् व्यापार मेला, व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदान, र नीतिगत परामर्शजस्ता पहलमार्फत यो साझेदारीले लगानी र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
समझदारीअनुसार नाडाले नेपालमा चिनियाँ व्यवसायलाई सहजीकरण गर्ने, लगानीका सम्भावना पहिचान गर्ने र व्यापार मेलाजस्ता कार्यक्रम आयोजना गर्नेछ। सिसिपिआइटी-अटाेले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्राविधिक ज्ञानको आदानप्रदान गर्न सहजीकरण गर्ने र सहकार्यात्मक कार्यक्रमलाई समर्थन गर्नेछ।
सहकार्य कार्यान्वयनका लागि ज्वाइन्ट वर्किङ ग्रुप गठन गरिनेछ, जसले नियमित समीक्षा र आवश्यक सुधारमार्फत परिणाममुखी योजना सुनिश्चित गर्नेछ। दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारलाई सम्मान गर्दै गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यो साझेदारीले नेपाल र चीनबीचको अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाएर दुई देशकाे अर्थतन्त्रलाई अझ नजिक ल्याउने विश्वास गरिएको छ।